काठमाडौं । पहिचानको आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने भन्दै काठमाडौं वरपरका तामाङहरुले पनि आन्दोलनको घोषणा गरेका छन् । काठमाडाैंबाट आन्दोलनकाे घोषणा गरिएकाे हाे । घोषणा कार्यक्रममा अतिथिकाे तर्फबाट बाेल्दै किरात राई यायोक्खाका अध्यक्ष जीवन आतेचो राईले तामसालिङ नामाकरण राख्नेमा आफूहरुको पनि सहयोग रहने भन्दै डकैतीको शैलीमा राखिएको १ नम्बरको ‘कोसी’ नामलाई बदलेर पहिचानको आधारमा नामाकरण गरिछोड्ने दाबी गरे ।
त्यतै अर्का वक्ता नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे शेर्पाले पहिचानको नाममा नामाकरणका लागि बहुमत हुँदाहुँदै पनि हुन नसक्नु विडम्बना भएको बताए । उनले तामसालिङ राज्य प्राप्त गर्नका लागि काठमाडौं वरपरका जिल्लाहरुमा नाकाबन्दी गरे पुग्ने बताए ।
त्यस्तै अर्का वक्ता वैज्ञानिक समाजवादी पार्टीका महासचिव विश्वभक्त दुलालले तामसालिङ लगायतका उत्पीडित जातिहरुले केन्द्रबाट नभई गाउँ गाउँबाट सबभन्दा पिछडिएको वर्गलाई आन्दोलनमा उठाउनु पर्ने बताए ।
अर्का वक्ता नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरले तामसालिङ प्रदेश प्राप्तिमा मगर समुदायको पनि समर्थन हुने बताए । अर्का वक्ता तथा तामसालिङ आन्दोलनका नेता परशुराम तामाङले दलित र अन्य उत्पीडित जातिहरुको मुक्ति र तामाङहरुको मुक्तिको विषय एउटै मुद्दा भएकाले सँगै मिलेर संघर्ष गर्नुपर्नेमा जोड दिए ।
अर्का वक्ता प्रेम लिम्बुले तामसालिङमा चुनाब जितेका तामाङ नेताहरुले तामाङको मुद्दा नउठाएर गद्दारी गरेकोले अब अर्को आन्दोलन गर्नु परेको बताए । १ नम्बर प्रदेशबाट सुरु भएको पहिचानको आधारमा प्रदेशकाे नाममाकरण गर्नुपर्ने मुद्दा देशभर फैलिन थालेको छ ।
पहिलो संविधानसभामा पहिचानकै आधारमा स्वायत्त प्रदेशहरु बन्ने निश्चित भएको अवस्थामा षडयन्त्र गरी त्यसलाई भंग गरिएपछि बनेको दोस्रो संविधानसभाबाट जनजातिहरुका बाहूल्य रहेका क्षेत्रहरुलाई स्वायत्त प्रदेश दिनुपर्ने जनजातिका भूगोलहरुलाई कटाएर उनीहरु अल्पमतमा पर्ने हालका प्रदेशहरु बनाइएको हो । दोस्रो संविधानसभाबाट बनेको संविधान लागूभए सँगै सेलाएको जनजातिको पहिचानको आन्दोलन नेपालमा फेरि उठ्न थालेको छ ।
तस्वीर : राेमन बुढामगर