काठमाडौं । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको जग्गा हिनामिना मुद्दामा अदालतमा आजबाट १८ प्रतिवादीको बयान हुँदैछ । आइतबार जिल्ला सरकारी वकिल कार्यालयले २८९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेका मध्ये थुनामा रहेकाहरुको बयान लिन लागिएको हो।
सो प्रकरणमा मृत्यु भएका २१ जनालाई पनि वकिल कार्यालयले जग्गा फिर्ता गर्ने प्रयोजनका लागी प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । थुनामा भएकाहरूको बयान सकिएपछि थुनछेक बहस सुरु हुन्छ । १८ जना बाहेकका प्रतिवादीलाई फरार सूचीमा छन् ।
अदालतको आदेशले हाजिर जमानीमा रिहा भएका लोकहरि घिमिरेलाई आइतबार पुनः पक्राउ गरिएको छ । सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेसँगै पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह रिहा भएका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ५७ दिनसम्म ‘सङ्गठित किर्ते’ कसुरमा अनुसन्धान गरेर सोही कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको थियो । तर, ललिता निवासमा ‘सङ्गठित कसुर’ आकर्षित नहुने भन्दे सरकारी वकिलले ‘लिखत किर्ते’मा मात्रै सजाय र जरिवाना हुनुपर्ने मागदावी लिएको छ ।