• जेष्ठ ३२ २०८२, शनिबार

उपमेयरले शिक्षा शाखा प्रमुखलाई कुटेपछि कर्मचारीले गरे कार्यालय प्रवेशद्वारमा तालाबन्दी

भाद्र १० २०८०, आईतवार

रुकुम । रुकुम (पश्चिम) को मुसिकोट नगरपालिकामा शनिवार दिउँसो प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै शिक्षा शाखा प्रमुख नरेन्द्र ओलीलाई उपमेयर विमलकुमार पुनले कुटपिट गरेको विरोधमा आइतबार कर्मचारीले नगरपालिकाको गेटमै ताला लगाएर कामकाज रोकेका छन् ।

शिक्षक पदपुर्तीको परीक्षाको विषयलाई लिएर उपमेयर पुनले शिक्षा शाखा प्रमुख ओलीलाई कुटपिट गरेको विरोधमा कर्मचारीहरुले आइतबारदेखि अनिश्चितकालका लागि काम रोकेका हुन् ।

मुसिकोट नगरपालिका–१ खंलगास्थित त्रिभुवन जनता माध्यमिक विद्यालयको उच्च माध्यमिक तहको लेखा विषयको शिक्षक पदपुर्तीको परीक्षा लिन तयारी भईरहँदा उपमेयर पुनले नगरपालिकाका शिक्षा अधिकृत नरेन्द्र ओलीलाई हातपात तथा  दुर्व्यवहार गरेको भन्दै नगरपालिकामा कार्यरत कर्मचारीहरुले विरोध कार्यक्रम अन्तर्गत नगरपालिकामा तालाबन्दी गरेका हुन् ।

कर्मचारीहरुले मूल गेटमै ताला लगाएर धर्ना दिँदै नगरपालिकाको सेवा प्रवाह ठप्प पारेपछि कार्यालयका कामहरु रोकिएको हो । कर्मचारीमाथि हातपात तथा दुव्र्यवहार भएको भन्दै कर्मचारीहरुले उक्त घटनाको विरोधस्वरुप कार्यालयको सेवा ठप्प रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले बताए ।

यस्तै कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृतले कर्मचारीहरुको बैठक बसाल्नुपर्ने, दोषीलाई कडा कारबाही गर्नुपर्ने, कर्मचारीहरुलाई भरपर्दो शान्ति सुरक्षाको वातावरण मिलाउनु पर्ने, नगरपालिकामा कार्यरत कर्मचारीको गल्ती भए कानुन बमोजिम कारबाही गर्नुपर्ने, उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने, जनप्रतिनिधि आफै नियमावली, कानुन बनाउने कार्यान्वयन गर्ने बेला कर्मचारीलाई दोषी देखाई आफू पन्छिन खोज्ने कार्यको अन्त्य हुनुपर्ने, जनप्रतिनिधि र कर्मचारीहरुको भूमिका र काम स्पष्ट तोकिएकाले एक अर्कोबिच हस्तक्षेपकारी भूमिका गर्न नपाइने लगायतका मागहरु राखेर कर्मचारीहरुले कामकाज ठप्प पारेका हुन् ।

कर्मचारीहरुको मागहरु निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले नगर प्रमुख महेन्द्र केसीलाई बुझाइएका थिए । उता उपमेयर पुनले आफूले कर्मचारीलाई हातपात नगरेको प्रतिक्रिया दिए । आफ्नै कार्यकक्षमा पत्रकारसँग उपमेयर पुनले आफूले अनियमित तरिकाले हुन लागेको विद्यालयको कर्मचारी भर्ना गर्न खोज्ने प्रक्रिया रोक्न माग गरेको प्रतिक्रिया दिए ।