• जेष्ठ ३२ २०८२, शनिबार

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदै

भाद्र १० २०८०, आईतवार

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी (बलात्कार)को मुद्दामा काठमाडौं जिल्ला अदालतमा आज (आइतबार) पेसी रहेको छ। लामो समयदेखि पेसी चढ्ने, तर आदेश गरेर सर्दै आएको मुद्दामा काठमाडौं जिल्ला अदालतले आइतबार फैसला केन्द्रित सुनुवाइ गर्ने अपेक्षा गरिएको छ।

यसअघि सन्दीपको मुद्दामा गत बिहीबार (साउन ३२ गते) मुद्दामाथि सुनुवाइ भएको थियो। उक्त दिन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरी (गौशाला २६)की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको थियो।

पीडित किशोरीकी आमाको जन्ममिति एउटा कागजातमा २०३५ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि अदालतले जन्ममिति प्रमाणीकरण गर्न भनेको हो। न्यायाधीश खतिवडाको साउन ३२ गतेको इजलासले मुद्दाको नियमित सुनुवाइ गर्ने निर्णय समेत गरेको थियो।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।

१८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी)माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ। सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ।

उक्त कसुरअन्तर्गत १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।