काठमाडौ । ललिता निवास जग्गा अनियमितता प्रकरणमा प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालतमा मुद्दा दायर गर्ने भएको छ ।
मुद्दा दर्ताका लागि सरकारी वकील कार्यालयले अभियोगपत्रको खाका तयार पारेको छ । शनिबार रातिसमेत गरी सरकारी वकिलको टोलीले अभियोगपत्रको मस्यौदा तयार गरेको हो ।
हिनामिनामा संलग्न रही पक्राउ परेका र अहिले फरारसहितलाई प्रतिवादी बनाएर आज सरकारी वकिल कार्यालयले कीर्ते र सङ्गठित अपराधका दफासहित अदालतमा मुद्दा दायर गर्दैछ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई सय ३८ कसुरदार, ४८ जना जग्गाधनी र २१ जना मृतकलाई प्रतिवादी बनाउने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाइसकेको छ ।