• मंसिर ११ २०८१, मंगलवार

संस्थागत नीतिको आवश्यकता

भाद्र १० २०८०, आईतवार

स्तम्भकारको ध्यान करिब सात–आठ महिनाअघि तत्कालीन आइजिपी धिरजप्रताप सिंहको पालामा निर्माण गरिएको नेपाल प्रहरीको आन्तरिक नीति हालैका आइजिपी वसन्त कुँवरले हेरफेर गर्दा असन्तुष्ट बनेका अधिकृतहरूको प्रतिक्रियाले आकर्षित गराएको छ । हेरफेर भएको पछिल्लो नीतिबाट सन्तुष्ट हुने अधिकृतहरू पनि धेरै हुनसक्छन् ।

तथापि, असन्तुष्ट अधिकृतको संख्या नै अत्यधिक भएको पाइएपछि उपत्यकाबाहिर कार्यरत अधिकृतको प्रतिक्रिया बुझ्ने प्रयास गरिएको थियो । सोक्रममा सातै प्रदेशका सुगम तथा दुर्गम स्थानमा कार्यरत केही प्रहरी अधिकृतसँग बुझ्दा फेरबदल नीतिबाट ४० प्रतिशत अधिकृत सन्तुष्ट, ६० प्रतिशत असन्तुष्ट रहेका पाइयो । यस पृष्ठभूमिमा नेतृत्व परिवर्तन सँगसँगै हुने नीतिको परिवर्तन प्रभावकारी कार्य सञ्चालनकै बाधक बनेको देखियो ।

अनौपचारिक कानुन मानिने नीति मात्र होइन राज्यले केही दिनअघि बनाएकै कानुन भोलिका दिनमा अमान्य र प्रभावविहीन बन्नसक्छन् । यो सबैले महसुस गरेकै कुरा हो । कानुन वा नीति निर्माण गर्दा समस्त नागरिक वा संगठनका सम्पूर्ण सदस्यको हितलाई सम्बोधन गर्नेगरी निर्माण गर्नुपर्छ । नीति वा कानुनको मुख्य उद्देश्य नै सामूहिक उपलब्धि हासिल गर्न सबैलाई अभिप्रेरित गराउनु हो ।

हुन त प्रहरीको मात्र होइन सरकारकै नेतृत्व फेरबदल हुँदा नीति नै फेरबदल गर्ने हाम्रो नकारात्मक प्रशासनिक विशेषता नै हो । साबिकको नीतिको प्रभावकारिता जस्तोसुकै होस्, त्यसलाई नै निरन्तरता दिए आफूलाई अदक्ष ठान्ने परिवर्तित नेतृत्वको दृष्टिकोण आफैंमा घातक छ । तर, यही प्रवृत्ति व्यवहारमा हट्नसकेको छैन ।

प्रहरीको नीति फेरबदल उपल्लो र मध्यम स्तरका प्रहरी अधिकृतको चासोको विषय बन्ने गर्छ । नीतिप्रति चासो राख्ने उपल्लो तहका अधिकृतहरूमा एसएसपीदेखि एआइजिपीसम्म पर्छन् । यसैगरी, नीतिप्रति बढी चासो दिने मध्यम तहका अधिकृतहरूमा एसपी, डिएसपी र इन्सपेक्टर पर्छन् । वरिष्ठ सईभन्दा मुनिका दर्जालाई नीतिको फेरबदलप्रति त्यति चासो हुँदैन ।

प्रहरीमा व्यक्तिगत हित र स्वार्थकै लागि नीति परिवर्तन गर्ने प्रवृत्ति निकै पुरानो हो । सर्वप्रथम प्रहरीमा व्यक्तिवादी नीतिको बिजारोपण तत्कालीन आइजिपी मोतिलाल बोहराको पालामा २०४९ सालबाटै प्रारम्भ भएको हो । त्यसबेला पदावधि कायम रहेकै अवस्थामा साबिकका आइजिपी रत्नशमशेर जबरालाई ३० वर्षे सेवा अवधि लागू गराएर अवकाश दिलाई आफू आइजिपी बन्ने उद्देश्यले मोतिलाल बोहराले चालेको षड्यन्त्र अन्ततः सफल भयो । यसका लागि प्रहरी नियमावली नै संशोधन गरियो ।

कार्यकाल बाँकी रहँदै आइजिपी रत्नशमशेरले अवकाश हुनुप-यो । मोतिलाल बोहरा उनको ठाउँमा आइजिपी भए । आइजिपीबाट अप्रत्याशित रूपमा पदमुक्त हुनुपर्दा रत्नशमशेर जबरा अन्यायमा त परे नै । तर, त्यसभन्दा मार्मिक असर रत्नशमशेरले नक्सालस्थित आइजिपी निवासबाटै गर्न तयार पारेको छोराको विवाह गर्न पाएनन् ।

रत्नशमशेर राणाका तर्फबाट नक्साल निवास नै विवाहस्थल उल्लेख गरी निमन्त्रणा कार्डसमेत बाँडिएको थियो । विवाहको केबल पाँच दिनअघि मात्रै उनले आइजिपी निवास नै छोड्नुपर्दा विवाहको निर्धारितस्थल नै परिवर्तन गर्नुपर्‍यो । यो रत्नशमशेरको निम्ति अत्यन्त मार्मिक अवस्था बनेको स्तम्भकारले महसुस गर्‍यो।

यसपछि लागू भएको ३० वर्षे सेवाहद आइजिपी बोहराले आफ्नै कार्यकालको अन्त्यतिरै हटाउने प्रयास पनि नगरेका होइनन् । बोहराको महत्वकांक्षा पुनः ३० वर्षे सेवाहद हटाई आफ्नै कार्यकाल बढाउने थियो । तर, त्यसमा बोहरा सफल हुनसकेनन् ।

तैपनि, उनले आफैं प्रहरी सेवाको उच्च पदमा रहिरहने आकांक्षाले आइजिपीभन्दा माथि डिजी वा डाइरेक्टर जनरलको पद स्थापित गरी आफैं सो पदमा रहने महत्वकांक्षा लिएका थिए । तर, त्यसमा सफलता नपाएपछि बोहरा २०५३ सालमा आइजिपी पदबाट अवकाश भए । प्रहरी संगठनभित्र व्यक्तिवादी नीतिको बिजारोपण यसरी नै भएको थियो ।

यही समयदेखि उच्च प्रहरी अधिकृतहरू नेताको पछि लाग्नेक्रम पनि प्रारम्भ भयो । एकै ब्याजका अत्यन्त घनिष्ट अच्यूतकृष्ण खरेलले केवल छोटो समयमै आइजिपी पदबाट अलग्गिनुपर्‍यो भने ध्रुवबहादुर प्रधान, खरेलको ठाउँमा आइजिपी भए । तर, आफू अन्यायमा परेको भनी आइजिपी अच्यूतकृष्ण खरेल सर्वोच्च अदालत गएपछि पुनः खरेल आइजिपी पदमै पूर्ववतः रूपमा कायम रहेका थिए । त्यसबेला तत्कालीन गृहमन्त्री वामदेव गौतम, भएका आइजिपीलाई हटाउने र अर्कोलाई बनाउने निर्णयकर्ताको भूमिकामा थिए ।

नेता पछ्याउने प्रवृत्ति पनि वामदेव गौतमकै पालामा चुलिँदै आएको हो । नेताले पनि निजी स्वार्थमा आइजिपीलाई प्रयोग गर्ने अवसर पाउँदै आए । यसपछि हरेक आइजिपीका पालामा यसक्रम दोहोरिँदै आयो । प्रहरी संगठनको संगठनात्मक एकतामा खलल पु¥याउने प्रमुख कारण उच्च अधिकारीबिचकै स्वार्थको प्रतिस्पर्धा पनि हो ।

यही प्रवृत्ति तल्लो तहका अधिकृतसम्म विस्तारित हुँदा अहिले त प्रहरी अधिकारीहरू नै प्रभावशाली दलकै भ्रातृ संगठनमा परिणत हुन थालेका छन् । यस पृष्ठभूमिमा प्रहरीको नीति फेरबदल हुनु आश्चर्यको विषय होइन ।

व्यक्तिवादी नीति सीमित व्यक्तिको निम्ति लाभदायक भए पनि सिंगो प्रहरी संगठनका निम्ति घातक हुन्छ भन्ने कुरा आइजिपीले बुझ्न जरुरी छ । यस्तो नीति केही व्यक्तिका निम्ति उच्च पद हत्याउने माध्यम बन्नसक्छ भने कसैका निम्ति यो पदावधि बढाइदिने अवसर बन्नसक्छ । तर, दीर्घकालीन सोच र उद्देश्यले कर्तव्यप्रति समर्पित रहने अधिकांश प्रहरी अधिकृत तथा जवानका निम्ति यस्तो नीति हानिकारक हुन्छ ।

कार्यक्षमताकै आधारमा वृत्ति विकास गर्न समर्पित इमानदार अधिकृतले उपल्लो तहमा पुग्ने अभिलासा राख्नु स्वाभाविक हो । यसक्रममा आफ्नै योजनाका साथ क्यारियर बनाएर अघि बढ्ने अधिकृतका निम्ति अस्थिर नीति घातक बन्छ । नोकरी अवधिका आधारमा माथिल्लो के कुन पदमा पुग्न सकिन्छ भन्ने अग्रीम योजना सबैले गरेका हुन्छन् । आइजिपी परिवर्तन हुनासाथ नीतिमा परिवर्तन हुँदा योजनाबद्ध ढंगले अगाडि बढ्ने अधिकृतको योजनामा असर पर्छ । नेताको पछि लाग्ने व्यक्ति अगाडि बढ्ने, इमानदार पछाडि पर्ने गर्छन् ।

नीति फेरबदलको अर्को हानिकारक पक्ष मनोबलमा असर पुग्नु हो । प्रहरीको मनोबलमा ह्रास आए प्रभावकारी कार्य हुँदैन । यसले संगठनको एकतामै चोट पु¥याउँछ । प्रहरीको मनोबल उच्च होस्, प्रहरीले जनसेवाका उल्लेख्य काम गरोस्, सबै अपराधीलाई कानुनको दायरामा ल्याओस्, निष्पक्ष कार्य गरोस् भन्ने चाहना सत्तासीन नेताकै हुँदैन । प्रहरीले यस्तो कार्य गरे समाजमा लोकप्रिय हुन्छ ।

प्रहरीको संगठनात्मक एकता मजबुत हुन्छ । त्यस अवस्थामा प्रहरीलाई निजी एवं दलीय स्वार्थमा प्रयोग गर्न सकिँदैन भन्ने चिन्ता प्रायगरी हरेक दलका शीर्षस्थ नेतामा हुनेगरेको छ । उच्च प्रहरी अधिकृतहरू आफ्नै पछि लागिरहून् भन्ने नेताको मानसिकता प्रहरी संगठनको एकता खलल पार्ने माध्यम बन्दै आएको छ ।

नेताकै आड र संरक्षणमा उच्च प्रहरी अधिकृतहरू नै आपसी स्वार्थको प्रतिस्पर्धाले गुट उपगुटमा विभाजित हुँदैआएका छन् । यो कुरो हालै फेरबदल भएको प्रहरी नीतिको सन्दर्भमा गरिएको हालैको उपरोक्त सर्वेक्षणले नै पुष्टि गर्छ ।

अस्थिर नीतिको प्रभाव प्रहरीमा कस्तो पर्छ भन्नेतर्फ पनि संक्षिप्त चर्चा गर्नु सन्दर्भिक हुन्छ । अपराध नियन्त्रण र शान्ति सुरक्षाको प्रहरी दायित्व आफैंमा संवेदनशील छ । यही दायित्व सम्पादन गर्न र सर्वसाधारणमा सुरक्षाको अनभूति दिलाउन प्रहरीले स्वतस्फूर्त रूपमै कार्य गरेको हुनुपर्छ ।

यसका निम्ति नीति फेरबदलप्रति चासो नराख्ने तल्लो तह वा वरिष्ठ सईदेखि प्रहरी जवानसम्मकै भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । किनकि, नित्य सर्वसाधारणको घरदैलोसम्म पुग्ने र जनताकै साथमा रहने प्रहरी पनि यही तल्लो तहको हो । यिनीहरूकै कार्यसम्पादन शैली र व्यवहारमा नेपाल प्रहरीको लोकप्रियता र अलोकप्रियता आधारित रहन्छ ।

स्वतस्फूर्त कार्य गर्नका निम्ति प्रहरीको मनोबल उच्च हुनुपर्छ । सेवाप्रतिको निष्ठा प्रगाढ हुनुपर्छ । प्रहरीबिचकै पारस्परिक व्यवहार, उच्च प्रहरी अधिकृतप्रतिको विश्वास र आडभरोसा, वृत्ति विकास अवसर, संगठनद्वारा सञ्चालित पारदर्शी कार्य तथा मातहतका अधिकृत जवानलाई हेर्ने उच्च अधिकृतको दृष्टिकोण प्रहरी मनोबलका प्रमुख आधार हुन् ।

अनुकूल वातावरणभित्रको प्रहरी कार्य प्रभावकारी हुने भएकाले त्यसबाट निस्कने कार्य परिणाम पनि उपलब्धिमूलक हुन्छ । यसका निम्ति संगठन, सकल दर्जाकै समानुपतिक हितमा आधारित स्थिर नीतिमा परिचालित हुनुपर्छ । यस अवस्थामा आइजिपी परिवर्तन हुँदैमा प्रहरीको नीति परिवर्तन गर्नुपर्दैन ।