• जेष्ठ ३२ २०८२, शनिबार

भ्रष्टाचारविरुद्धको अभियानबाट जनतामा आशा जागेको छ : उपप्रधानमन्त्री श्रेष्ठ

भाद्र ८ २०८०, शुक्रबार

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्ष तथा भ्रष्टाचारविरुद्ध चालेको कदमबाट आम जनतामा आशा जागेको बताएका छन् ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति ललितपुरले आज आयोजना गरेको कार्यक्रममा उहाँले सुशासन, आर्थिक समृद्धि र न्यायका निमित्त माओवादी केन्द्रले सरकार, सदन र सडक तीनै स्थानबाट अभियान चलाएको बताए ।

“प्रचण्ड नेतृत्वको सरकारले चलाएको अभियानबाट तस्कर, ठग र भ्रष्टाचारीहरू आत्तिएका छन् । तर आमजनता यो अभियानबाट खुसी भएका छन् । लोकतन्त्र र राजनीतिक परिवर्तनपछि वर्तमान सरकारले चलाएको भ्रष्टाचार विरोधी अभियानबाट आम जनतामा आशा पलाएको छ,” माओवादी वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले भने ।

सरकारले भ्रष्टाचार विरोधी अभियान दृढतापूर्वक अगाडि बढाएको उनले दाबी गरे । “भ्रष्टाचार विरोधी अभियान दृढतापूर्वक अगाडि बढाउँछौँ । सरकार र गृह मन्त्रालयको नेतृत्वको निरन्तरता भनेकै तस्कर, भ्रष्टाचारी र ठगविरुद्धको अभियान हो,” उनले भने, “यो अभियानमा आम जनताको साथ र सहयोगको अपेक्षा छ ।”

नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सामान्तवादको अवशेषका रूपमा रहेको मिटरव्याजसम्बन्धी समस्या समाधान गर्ने सरकारको कदम सुशासन र भ्रष्टाचार विरोधी कदमकै निरन्तरता रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । उनले सरकारले जनताको पक्षमा निरन्तर काम गरिरहने पनि बताए ।