काठमाडौं । कांग्रेस नेता डा.शेखर कोइरालाले एकपछि अर्को भष्टाचारका काण्डहरू सार्वजनिक भएपछि अन्तर्राष्ट्रियस्तरमा नेपालको बदनाम भएको टिप्पणी गरेका छन् ।
पार्टीको एक कार्यक्रममा सहभागी हुन बिहीबार जनकपुर आइपुगेका नेता कोइरालाले पत्रकार सम्मेलनमा मुलुक भ्रष्टाचारको अखाडा बनेको बताए गरे । भुटानी शणार्थी प्रकरण, ललितानिवास प्रकरण, सुनकाण्डलगायतका घटनाले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि बिग्रेको बताउँदै नेता कोइरालाले भने, ‘यस्ता घटनाको सत्थतथ्य र सूक्ष्म तरिकाले अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्नुपर्छ ।’
यस्ता विभिन्न घटनाले अन्तराष्ट्रियस्तरमा नेपालको साख गिरेको बताउदै उनले नेपालको साख जोगाउनु अहिलेको आवश्यकता रहेको र त्यसमा नेपाली कांग्रेससहित सबै राजनीतिक दलहरू गम्भीर हुनुपर्ने बताए । नेपाल अन्तर्राष्ट्रियस्तरको सुन तस्करीको अखाडा बनिसकेको र आफूले सोहीअनुसारले बुझेको उनको भनाइ थियो ।
आवश्यकता भन्दा कम सुन नेपालमा आयात भइरहेको र बाँकी सुन तस्करीबाट पूरा हुने गरेकाले पनि सुन तस्करी बढेको उनको तर्क छ । भारतमा मात्र १३ टन सुनको खपत हुने गरेकोमा ७/८ टन सुन मात्र आयात हुँदै आएको उल्लेख गर्दै उनले भारतसहित अन्य विभिन्न देशका लागि नेपाल सुन तस्करीको ट्रान्जिट मुलुकमा परिणत भएको उनले दाबी गरे ।
अर्को प्रसंगमा उनले नेपाली कांग्रेस सरकारमा सहभागी भएको तीन महिना मात्र भएकाले यसको मूल्यांकन तत्काल गर्न नसकिने बताए ।