• जेष्ठ ३२ २०८२, शनिबार

सीआइबीमा मिनबहादुरको बयान,‘सरकारी होइन, व्यक्तिको नामको जग्गा किनेको हुँ’

भाद्र ७ २०८०, बिहीबार

काठमाडौं । हाल कारागारमा रहेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले ललिता निवासमा आफूले व्यक्तिको जग्गा खरिद गरेको बताएका छन् । उनले आफ्नो व्यापार व्यवसायका लागि उक्त जग्गा खरिद गरेको बयान दिएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा दिएको बयानअनुसार उनले ललिता निवास क्याम्पभित्रको जग्गा हालसाबिक भएपछि विभिन्न जग्गा धनीहरुसँग आफूहरुले खरिद गरेको बताएका छन् । उनले आफूले खरिद गरेको जग्गामा मोही भए नभएको पनि त्यसबेला जानकारी नभएको बयान दिएका छन् ।

‘व्यक्तिको नाममा जग्गा कायम भएपछि मैले खरिद गरेको हुँ’, उनले दिएको बयानमा उल्लेख छ,‘मैले व्यक्तिको जग्गा खरिद गरेको हुँ, सरकारी जग्गा खरिद गरेको होइन ।’ उनले त्यहाँ आवास तथा भाटभटेनीको स्टोर बनाउनका लागि जग्गा खरिद गरेको बयान दिएका छन् । ‘ललिता निवासको जग्गा म र मेरो परिवारको नाममा खरिद गरेको जग्गामा मात्रै मैले लगानी गरेको हो,’ उनको बयानमा उल्लेख छ ।

त्यहाँ जग्गा रहेको जानकारी पनि आफूलाई शोभाकान्त ढकाल, रामकुमार सुवेदी, विश्वप्रकाश पण्डित, रामकाजी कोने लगायतका व्यक्तिले गराएको बयानमा उल्लेख गरेका छन् ।