• जेष्ठ ३२ २०८२, शनिबार

बागेश्वर बाबालाई बोलाएर सरकारले धार्मिक द्वन्द्व गराउन खोज्यो : सांसद अमरेशकुमार सिंह

भाद्र ७ २०८०, बिहीबार

काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारले धीरेन्द्र शास्त्री बागेश्वर बाबा धामलाई निमन्त्रणा गरेर धार्मिक द्वन्द्व गराउन खोजेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद सिंहले प्रधानमन्त्री र पुरै मन्त्रीमण्डललाई भारतमा गेरुवाबस्त्र धारण गराएपछि नेपालमा भारतीय बाबाहरुको लर्को लागेको बताए । उनले भने,‘प्रधानमन्त्रीकै निम्तो हो कि हैन बुझ्नैपर्छ, म सरकारसँग सोध्न चाहन्छु, एउटा धीरेन्द्र शास्त्री आउनुभयो, उहाँले कति सभ्य भाषा बोल्नुभयो आम जनतालाई थाहा छ । यहाँ सरकारले धार्मिक दंगा गराउन खोज्दैछ ।’

सांसद सिंहले अगाडि भने–‘अर्को फेरि मुरारी बापुपनि आउँदै हुनुहुन्छ । म सरकारसँग सोध्न चाहन्छु कि भोलि बुद्धिष्ट भिक्षु आउँदाखेरी त्यस्तो सुरक्षा अगाडि पछाडि दिन मिल्छ कि मिल्दैन ? भोलि मुसलमानको मौलना आउँदाखेरी त्यति छुट हुन्छ कि हुँदैन ? भोलि क्रिष्चियनको पोप आउँदाखेरी…..किनकि नेपालको संविधान धर्मनिरपेक्ष संविधान हो । प्रधानमन्त्रीलाई छुट छैन धर्मतिर लैजाने । अहिलेको सरकार देशलाई धार्मिक जातीय दंगातिर लगिरहेछ ।’

उनले जुन देश जातीय र धार्मिक द्वन्द्वमा जान्छ त्यो देशमा वर्षौंसम्म द्वन्द्व हुने बताउँदै आज मधेस धार्मिक द्वन्द्वको चपेटामा पर्न लागेको दाबी गरेका छन् ।