काठमाडौं । कोशी प्रदेश सरकार गठन तथा मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी विवादको रिटको पेसी सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ। कोशीका मुख्यमन्त्री उद्धव थापाले संविधान मिचेर विश्वासको मत लिएको भन्दै दायर भएको रिटमा बिहीबार सर्वोच्चले पहिलो सुनुवाइ गर्न लागेको हो। क्रमसंख्याअनुसार खतिवडाको इजलासमा उक्त रिट १३औं नम्बरमा छ।
मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको प्रक्रियामा संविधान मिचिएको भन्दै प्रदेश सभाको प्रमुख विपक्षी दल नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन्। विश्वासको मत लिँदा सत्ता गठबन्धनले संविधानको धारा १८६ विपरीत गरेकोले विश्वासको मत बदरको माग रिटमा गरिएको छ।
मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा प्रदेश सभा बैठकको अध्यक्षता गरेका सत्ता पक्षका सांसद इस्राइल मन्सुरीले मत दिएको र उक्त कार्यले संविधान मिचिएको दाबी रिटमा गरिएको छ। एमाले प्रदेश सभा संसदीय दलका नेता कार्कीका तर्फबाट बुधबार सर्वोच्चमा रिट दर्ता भएको हो।