• जेष्ठ ३२ २०८२, शनिबार

सुनकाण्ड छानबिन गर्न बनाइएको आयोग एमालेलाई विश्वासमा लिन बनाइएको रंगिन टालो हो : शर्मा

भाद्र ६ २०८०, बुधबार

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिनका लागि बनाइएको रंगिन टालो भएको टिप्पणी गरेका छन् । ‘साउनमा सुन पक्राउ पर्‍यो, भदौमा सहमति भयो, असोजमा छानबिन समिति बन्ने भनेपछि यो प्रतिपक्षलाई विश्वासमा लिएर जानका लागि रंगिन टालोको व्यवस्था गरियो,’ शर्माले भने ।

बुधबार संसद भवनबाहिर शर्माले साउनमा पक्राउ परेको सुन, भदौमा सहमति गर्ने र असोजमा उच्चस्तरीय छानबिन आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिएर जानका लागि रंगिन टालोको व्यवस्था गरिएको बताएका हुन् ।

‘साउनमा पक्राउ परेको सुनको सन्दर्भमा सीआईबीले जुन छानबिन गरिरहेको छ, त्यसलाई नै अघि बढाउने कुरामा अन्ततः प्रतिपक्ष सहमत भएर आयो । यो अन्तिममा सीआईबीलाई सघाएर जाने भन्ने कुरा हो ।’

अन्ततः प्रतिपक्ष पनि सीआईबीबाटै अनुसन्धान हुनुपर्छ भन्नेमा सहमत भएको शर्माको भनाइ थियो । अब हुने अनुसन्धानमा पूर्वसभामुख कृष्णबहादुर महरा र र उनका छोरालाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।

‘अहिले सीआईबीले गर्दै गरेको छलफल जुन छ, त्यसमा एक जना ठूलै पार्टीका नेता, पदाधिकारी । यो संसदको पूर्वसभामुख नै भएर बस्नुभएको व्यक्ति, उहाँको सयौँ, र उहाँका छोराको कयौँ पटक तस्करहरूसँग टेलिफोनमा छलफल भएको भन्ने मिडियामार्फत बाहिर आएको छ,’ शर्माले भने, ‘अब अनुसन्धान गर्दैगर्दा त्यो विषयलाई नछोडियोस् । उहाँहरू निर्दोष नै हो भने पनि निर्दोष प्रमाण गर्ने निकायले छानबिनका लागि दायरामा ल्याउनुपर्छ ।’