• जेष्ठ ३२ २०८२, शनिबार

सुन तस्करीमा पक्राउ परेका दावा लामाको कनेक्सन पूर्वप्रहरीका उच्चअधिकारीसित छ : रवि लामिछाने

भाद्र ६ २०८०, बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा लामाको कनेक्सन पूर्वप्रहरीका केही उच्चअधिकारीसँग रहेको दावी गरेका छन् ।

बुधबार संसद बैठकमा बोल्दै सभापति लामिछानेले केही पूर्वमहानिरीक्षकसँग दावाको सम्पर्क देखिएको सूचना प्रहरीले आफूलाई दिएको दावी गरेका हुन् । तर, उनले दावासँग सम्पर्कमा रहेका ती पूर्वप्रहरी महानिरीक्षकहरूको नाम भने खुलाउन चाहेनन् ।

लामिछानेले भने,’ सरकारका बहालवाला एक महानिर्देशकले सुन आएको कुराको जानकारी लामा भनिएका व्यक्तिलाई फोटोसमेत पठाएको जानकारी प्रहरी नेतृत्वले मलाई दिएका छन् । यसमा संलग्न केही बिचौलीयाहरू बारे जानकारी पनि उपलब्ध गराएका छन्, ‘उनले भने,’ यसको जानकारी सम्बन्धित निकायलाई गराउनेछु ।’

लामिछानेले लामासँग केही पूर्वप्रहरीहरूको पनि कुराकानी भएको सूचना प्राप्त भएको जिकिर गरे । उनले भने,‘सुन प्रकरणमा पक्राउ परेका दावा लामासँग केही पूर्वप्रहरीहरूको पनि कुराकानी भएको सूचना प्राप्त भएको छ । यसमा प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले दावा भनिएका व्यक्तिसँग प्रहरीका उच्चअधिकारीको टेलिफोनमा भएको रेकर्ड संसदले जस्ताको त्यस्तै हेर्न पाउनुपर्ने माग गरे । ‘फरेन्सिक ल्याबबाट दावासँग टेलिफोनमा भएको रेकर्ड संसदीय समितिले अथवा संसदले जस्ताको तस्तै हेर्न पाओस्, जहाँभित्र अत्यन्तै सूचना छन्,’उनले भने ।