• जेष्ठ ३२ २०८२, शनिबार

सुन तस्करी छानबिन गर्न आयोग गठन गर्न दलहरु सहमत

भाद्र ६ २०८०, बुधबार

काठमाडौं । सुन तस्करी छानबिन गर्न आयोग गठन गर्न दलहरु सहमत भएका छन्। बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकले दुई बुँदे सहमति गरेको हो। आयोग भने अर्को महिना मात्रै गठन गरिने छ।

सहमति पत्रमा विदेशबाट इलेक्ट्रिक सिगरेटमा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको, मिति २०८० साउन २ गते ब्रेक-सुमा राखी अवैध पैठारी (तस्करी) गरिएको सुन लगायत पटकपटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र र निष्पक्ष छानबिन गर्न आयोग गठन गरिने उल्लेख छ।

‘यस्तो तस्करीजन्य कार्यको पूर्णरुपमा नियन्त्रण गर्न मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र पटकपटकको सुन तस्करी सम्बन्धमा भएका छानबिन अनुसन्धान बारे समेत अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम २०८०/०६/०५ गते नेपाल सरकारले आयोग गरी त्यसै दिनदेखि आयोगले कार्य प्रारम्भ गर्नेछ’, सहमतिपत्रमा भनिएको छ।