• जेष्ठ ३१ २०८२, शुक्रबार

‘राष्ट्रिय दल’का शीर्ष नेताहरुको बैठक सिंहदरबारमा जारी

भाद्र ६ २०८०, बुधबार

काठमाडौं । संसद्‌मा जारी अवरोध हटाउने विषयमा छलफल गर्न संसद्‌मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक पार्टीका नेताहरुको बैठक सिंहदरबारमा सुरु भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बैठक सुरु भएको हो। बैठकले सुन तस्करी प्रकरणको छानबिनका लागि गठन गर्ने भनिएको उच्चस्तरीय समितिको कार्यादेश तथा संरचना लगायत विषयमा सहमति जुटाउने बताइएको छ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका नेताहरु सहभागी छन्।

प्रधानमन्त्री प्रचण्डको आह्वानमा सोमबार बसेको बैठकमा सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको थियो। उच्चस्तरीय समितिको संरचना र कार्यादेश लगायत विषयको प्रारम्भिक खाका तयार पार्न कार्यदल समेत गठन भएको थियो।

कार्यदलमा नेपाली कांग्रेसबाट रमेश लेखक, नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ र नेकप माओवादी केन्द्रबाट हितराज पाण्डे सदस्य छन्। कार्यदलको बैठक मंगलबार बसेको थियो। कार्यदलको बैठकले उच्चस्तरीय समितिको कार्यादेश र संरचनाबारे प्रारम्भिक खाका तयार गरेको बताइएको छ।