विराटनगर । माओवादी केन्द्रको कोसी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जिम्मेवार प्रमुख प्रतिपक्षीले संसदीय व्यवस्थामै नकारात्मक सन्देश प्रवाह गरेको आरोप लगाएका छन् ।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मतको प्रस्ताव राखिसकेपछि प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले रातारात उपसभामुखलाई बिरामी बनाइएको आरोप पनि लगाए । ‘विश्वासको मत लिने दिन ९ जना माननीयलाई एक्कासी बिदामा राख्ने काम भएको छ,’ आङ्बोले भने, ‘उपसभामुखलाई रातारात बिरामी बनाइएको छ ।’ बिरामी अवस्थाकी उपसभामुख आफै ठमठमी हिँडेर जहाजमा चढेको भन्दै उनले ब्यंग्य पनि गरे । निकास खोज्न सकारात्मक हिसाबले वार्ता गरिएको भएपनि जिम्मेवार प्रतिपक्षीले धोका दिएको उनको भनाइ छ ।
पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीप्रति लक्षित गर्दै आङ्बाले आफ्नै नेतृत्वमा सरकार बन्दा मात्रै सहमतिको कुरा हुने । अरूको नेतृत्वमा बन्दा नहुने ? भनेर प्रश्न पनि गरेका छन् । ‘सभा सञ्चालन गर्न जुन ढंगको परिस्थिति निर्माण गरियो, त्यसले राम्रो सन्देश गएन,’ उनले भने, ‘षडयन्त्रमूलक काम जिम्मेवारपूर्ण राजनीतिक दलबाट कसैले अपेक्षा गरेको हुँदैन ।’
व्यवस्थाप्रति नै वितृष्णा पैदा हुने असंसदीय खालका गतिविधि र क्रियाकलाप भइरहनु सुखद नभएको उनले बताए । त्रुटि र कमजोरीलाई शिक्षाका रुपमा लिएर प्रदेशलाई सहमतिमा फर्काउनुपर्ने आवश्यकता रहेको आङ्बो बताउँछन् । उनले माओवादीले मुख्यमन्त्री थापालाई विश्वासको मत दिने पनि बताए ।