काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले अस्वस्थताको कारण देखाउँदै बैठकमा नआएपछि सर्वदलीय बैठक स्थगित भएको छ । मंगलबारको बैठकमा कार्यदलले मस्यौदा बुझाउने र सर्वदलीय बैठकले त्यसलाई अन्तिम रूप दिने सोमबार रातिको सर्वदलीय बैठकमा सहमति जुटेको थियो । तर मंगलबार दिउँसो २ बजेलाई बोलाइएको बैठकमा अध्यक्ष ओली आउन नसकेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।
‘अध्यक्षले हामीलाई बिरामी छु केही ढिला हुन्छ होला भनेर खबर गर्नु भएको थियो,’ नेम्वाङले भने, ‘मैले प्रधानमन्त्रीलाई त्यही जानकारी गराएको थिएँ ।’ प्रधानमन्त्री पुष्पकमल दाहालले अध्यक्ष ओलीलाई बैठकस्थलबाटै २ पटक फोन गरेको र अन्तिममा बुधबार बैठक बसौं भन्ने प्रस्ताव गरेको नेम्वाङले बताए ।
‘सुरूमा त प्रधानमन्त्रीज्यूले पर्खने कुरा गर्नुभएको थियो तर अध्यक्षसँग कुरा भएपछि उहाँले समय लाग्ने भयो । ४ बजे प्रधानन्यायाधीशको शपथ छ, भोलि बिहान ११ बजे बसौं भन्नुभयो,’ नेम्वाङले भने ।
बैठक स्थगित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताहरूको बैठकमा साक्षी बस्नु भनेको बदनाम हुनुमात्र रहेको टिप्पणी गरे ।
‘हामीलाई के लाग्यो भने शीर्ष नेताहरूको बैठकको साक्षी बस्नु भनेको बदनाम हुनुमात्र हो । साक्षी बस्नुको अर्थ देखिएन । हामी छलफल गर्छौं, यो विषय उहाँहरूलाई नै टुंग्याउन दिनुपर्छ,’ लामिछानेले भने ।
सामान्य विषयलाई पनि तन्काइरहने परम्परामा दलहरू रहेको उनको भनाइ छ । ‘उहाँहरूले नै टुंग्याउनु होला भनेर आफ्नो ढंगले हामी अघि बढ्नुपर्छ भन्ने लागेको छ,’ उनले भने । प्रधानमन्त्री दाहालले सिंहदरबारमा मंगलबार बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओली अनुपस्थित भएपछि बस्दै नबसी बुधबारका लागि स्थगित गरिएको थियो ।
सोमबार सत्ता र प्रतिपक्षी दलहरूले सुन प्रकरण छानबिन गर्न जाँचबुझ आयोग बनाउने सहमति गरेका थिए । यसको कार्यादेश र संरचनासहितको मस्यौदा पनि तयार भइसकेको छ । मंगलबार जाँचबुझ आयोग बनाएर सदन चलाउने भने पनि दलहरूबीच सहमति हुन सकेन । प्रतिनिधि सभा बैठक पनि बुधबार अपराह्न ३ बजेसम्मका लागि स्थगित भएको छ ।