काठमाडौं । बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले दुई पूर्वप्रधानमन्त्रीहरुलाई जोगाउँदै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ ।
सीआइबीले पूर्वप्रधानमन्त्रीबाहेक ४ पूर्वमन्त्रीसहित २८६ जनालाई प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरेको छ । सीआइबीले अनुसन्धान प्रतिवेदन बनाउन ५७ दिन लगाएको थियो । प्रहरीले यो प्रकरणमा आइतबार बेलुकी पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई उनको आफ्नै निवास कोटेश्वरमा र नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग टोखास्थित उनकै निवासमा ‘बयान’ कागजमा हस्ताक्षर गराएको थियो ।
जबकी बयान लिनको लागि सरकारी वकिललाई साक्षी राखेर लिनुपर्नेमा सो नगराई प्रहरीले आफै कागजमा हस्ताक्षर गराएको थियो । प्रहरीले गराएको ‘बयान’ कागजलाई बयान भन्ने की मौकाको कागज भन्ने प्रश्न उठेको छ । यद्यपी प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा भने बयान भन्ने उल्लेख गरेको छ ।
प्रहरीले यो प्रकरणमा सोमबार बेलुकी पूर्वमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदारसँग बयान लिएको थियो । पूर्वमन्त्री चन्द्रदेव जोशी, पूर्वराज्यमन्त्री सञ्जय साहसँग पनि बयान भइसकेको छ । पूर्वमन्त्री डम्बर श्रेष्ठ भने फरार रहेकाले बयान लिन नसकेको सीआईबीको भनाइ छ ।
चारै जना पूर्वमन्त्रीलाई भने प्रतिवादी बनाइएको सीआईबीका एक अधिकृतले बताए । सीआईबीले ललितानिवासको जग्गा चार पटक गरेर हडपिएको निष्कर्षसहित ४ वटा छुट्टाछुट्टै रायसहितको प्रतिवेदन बुझाएको छ । मुद्दा नं २४ मा ११२ रोपनी ४ आना १ पैसा जग्गा हिनामिना भएको निष्कर्षसहित प्रहरीले २०९ जनाविरुद्ध पक्राउ पूर्जी लिएको थियो ।
त्यस्तै, मुद्दा नं २५ मा नक्कली पशुपति टिकिन्छा गुठी खडा गरेर ४ रोपनी १४ आना २ पैसा २ दाम जग्गा हिनामिना गरेको प्रहरी निष्कर्ष छ । त्यसमा ११० जना संलग्न रहेको प्रहरीको निष्कर्ष छ । त्यही आधारमा प्रहरीले ११० जनाविरुद्ध पक्राउ पूर्जी लिएको थियो ।
मुद्दा नं २६ मा छुट जग्गा दर्ता गर्ने नाममा १२ आना २ पैसा जग्गा हिनामिना भएको प्रहरीको भनाइ छ । त्यसमा १३ जना संलग्न रहेको प्रहरी निष्कर्ष छ । मुद्दा नं २७ मा बालुवाटारको विशिष्ट व्यक्ति निवास परिसर विस्तारका लागि सट्टापट्टा र सोधभर्नाको नाममा २५ रोपनी ७ आना १ पैसा १ दाम जग्गा हिनामिना भएको प्रहरीको निष्कर्ष छ । यसमा ७४ जना संलग्न रहेको प्रहरी निष्कर्ष छ ।