• मंसिर १२ २०८१, बुधबार

काठमाडौंमा बन्ने मेट्रो रेलको नालीबेली

भाद्र ५ २०८०, मंगलवार

नेपालका नेताहरूले कहिले पानी जहाज कुदाउने, कहिले अन्तरीक्षमा यान उडाउने, कहिले पूर्वपश्चिम रेल गुडाउने कुरा गरेर जनतामा निराशा र अविश्वास सिर्जना गरी हारथाक पारेका बेलामा मित्र राष्ट्र रुसले राजधानी सहर काठमाडौंमा मेट्रो रेल कुदाइदिने प्रस्ताव गरेपछि जनताले त्यो प्रस्ताव स्वीकार गरे पनि त हुने थियो भन्ने मनशाय व्यक्त गरिरहेका छन् ।

मित्रराष्ट्र रुसले नेपाल सरकारसँग काठमाडौंमा मेट्रो रेल परियोजनाको प्रस्ताव माग गरेको छ । यसको आधिकारिक जानकारी रुसी राजदूतले सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँगको भेटमा दिइसकेका छन् ।

रुसी राजदूत अलेक्सी नोमिकोको नेतृत्वमा मन्त्री ज्वालाको कुराकानी भएपछि के गर्ने भन्ने बारेमा मन्त्री परिषदमा कुरासम्म पुगिसकेको देखिन्छ । एजेण्डाका रूपमा आएर स्वीकृति पाउन भने केही समय लाग्ने छ ।

सोमबारको भेटमा मन्त्री ज्वालाले मेट्रो, पूर्वपश्चिम रेल, सुरुङ मार्ग आदिका बारेमा कुराकानी गरेपछि रुसी राजदूतले नेपालका तर्फबाट आधिकारिक प्रस्तावको माग गरेका थिए । रुसी राजदूतकाअनुसार रुसी रेल्वे कम्पनी यसका लागि तयार रहेको छ ।

२०७९ साल चैत्र महिनाको तेस्रो सातामा रुसले काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माण लागि प्रस्ताव गरेको थियो । प्रस्तावमा काठमाडौं उपत्यकाभित्र ७७ दशमलब २८ किमी दुरीमा फैलिएको सहरी क्षेत्रमा मेट्रो रेल निर्माण संभव भएको र सो कार्यको लागि ३ खर्ब ३१ अर्ब ९२ करोड रूपैयाँ लगानीको दायरा खुलाइएको थियो ।

तर नेपालमा विभिन्न शक्ति राष्ट्रको खिचातानी र खेलका कारण यो प्रस्तावमा भनेजस्तो वातावरण बन्न सकिरहेको छैन । यो नेपालका लागि दुखद कुरा हो । नेपाली नेताहरूको दलाल प्रवृत्ति रहेका कारणबाट पनि उक्त काम समयमै हुन नसकेको हो ।

मस्को मेट्रो रेल विश्वमा सबैभन्दा प्रख्यात र अब्बल मानिन्छ । यसको बलियो तथा आधुनिक टेक्नोलोजीको सहायतामा विश्वमा मस्को रेल कम्पनीमार्फत् आधुनिकता र वैभव प्रदर्शन गर्ने मेट्रो रेलहरू निर्माण भइरहेका छन् । उपनिवेश कालमा बेलायतले निर्माण गरिदिएको भए तापनि हाल भारतका विभिन्न ठाउँमा रुसी मेट्रो रेल सञ्चालन हुँदै आएका छन् ।

अबका केही दिनमा रुसी संसदका अध्यक्ष भ्याचिसलोभ भिक्टोरोभिज भोलोडिन नेपाल भ्रमणमा आउने र त्यसै समयमा मेट्रो रेल तथा पूर्वपश्चिम रेलमार्ग र सुरूङ मार्गका विषयमा छलफल हुने छ ।

नेपालको परियोजना अध्ययन प्रतिवेदनअनुसार काठमाडौं मेट्रो रेलको रेल्वे लाइन दुई रूट भूमिगत र बाँकी तीनमा जमीनमाथि हुने जनाइएको छ ।

सातदोबाटो–रत्नपार्क–नारायणगोपालचोकसम्मको १२ दशमलब १० किमीको जमिन माथिको रूटमा चढ्ने ओराल्ने ११ स्टेशन, किर्तिपुर–कालिमाटी–बानेश्वर–एयरपोर्टसम्मको ११ दशमलब ५ किमीको जमीनमाथिको रुटमा ९ वटा स्टेशन, कोटेश्वर–चावहील–स्वयंम्भूनाथ–कोटेश्वरसम्मको जमिनमाथिको २८ दशमलब ५ किमीको रुटमा १७ वटा चढ्ने–ओर्लनले स्टेशन प्रस्तावमा छ ।

स्वयंम्भूनाथ–डिल्लीबजार–बौद्धसम्म बन्ने ११ दशमलब ७० किमी र धोबिघाट–सिंहदरबार–नक्साल–गोगंबुसम्मको १३ दशमलब ८० किमीको भूमिगत रूटमा १०/१० वटा स्टेशन प्रस्ताव गरिएका छन् । काठमाडौं मेट्रो रेलमा जमाजम्मी ५७ आधुनिक स्टेशन र २ वटा टर्मिनल रहने छन् ।