काठमाडौं । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको राष्ट्रिय दलहरूको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध खनिए ।
आफ्नो पार्टीका नेता बालकृष्ण खाँणको बचाउमा बोलेका देउवालाई आफ्नै उपसभापति तथा उपप्रधान तथा रक्षामन्त्री पूणर्बहादुर खड्काले रोक्न खोज्दा पनि उनी मत्थर नभएको बैठकमा सहभागी एक नेताले बताए ।
‘एक पटक हैन पटक-पटक नै उहाँ (देउवा) आक्रोशित हुनुभयो । कांग्रेसलाई थुन्ने अनि आफ्नो मान्छे बचाउने ? भन्दै उहाँ गृहमन्त्री माथि खनिनु भयो,’ बैठकमा सहभागी ती नेताले भने । बैठकमा देउवाले २-३ पटक बालकृष्ण खाँणको नाम लिएका थिए भने महरा बाउछोरालाई किन बचाएको भन्दै प्रश्न गरेको ती नेताले बताए ।
‘नाम के हो रे भन्दै महरा बाउछोराको नाम मिडियामा आएको र उनीहरुलाई पक्राउ नपरेको भन्दै आक्रोश पोख्नुभयो,’ ती नेताले भने । देउवाको आक्रोश मत्थर नभएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि आज सभापतिज्यूलाई के भएछ ? भन्दै वातावरण सामान्य बनाउन खोजेका थिए ।
‘गृहमन्त्रीले सभापतिज्यूलाई के भएछ । के-के कुरा उठाउनुहुन्छ भन्नुभयो । एकपटक चाहिँ सबै विवरण सुनाउनुभयो तर, देउवा कूल हुनुभएन,’ बैठकमा सहभागी अर्का एक नेताले भने ।
देउवालाई उपसभापति पूणर्बहादुर खड्काले पनि रोक्न खोजेका थिए । ‘अर्को पटक कुरा उठाउँला दाई । यहाँ प्रसंग मिलेन भनेर पूणर्जीले भन्नुभयो । तर देउवाले केको विषय नमिल्ने ? विषय एउटै हैन ? बालकृष्ण पक्रिने आफ्नै पार्टीका नेतालाई छोड्न मिल्छ भन्नुभयो,’ ती नेताले भने । प्रधानमन्त्री दाहालले सदनको जारी गतिरोध अन्त्य गर्न बैठक बोलाएका थिए ।