• बैशाख ९ २०८२, मंगलवार

दलित समुदायका बुहारीलाई नि:शुल्क पढाउने तीनपाटन गाउँपालिकाको निर्णय

भाद्र ३ २०८०, आईतवार

सिन्धुली ।  सिन्धुलीको तीनपाटन गाउँपालिकाले दलित समुदायभित्रका बुहारीहरूको उच्च शिक्षामा पहुँच अभिवृद्धि गर्न एक कार्यक्रम ल्याएको छ ।  आइतबार एक सूचना जारी गर्दै गाउँपालिकाले तीनपाटन गाउँपालिका क्षेत्रभित्रका सरकारी/सामुदायिक क्याम्पसमा स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययन गरिरहेका र गर्न चाहने बुहारीहरूलाई क्याम्पसमा लाग्ने भर्ना शुल्क नलिने बताएको हो ।

‘बुहारीहरूलाई स्नातक बा सोभन्दा माथिल्लो तह अध्ययनका लागि क्याम्पसमा लाग्ने भर्ना शुल्क र पढाइ शुल्क गाउँपालिकावाट ब्यहोर्ने गरी ‘सासूको इच्छा, बुहारीलाई शिक्षा’ नामक कार्यक्रम सञ्चालनमा ल्याइएको छ,’ सूचनामा भनिएको छ ।

कार्यक्रमबाट लाभ लिन बुहारी भए सासू वा छोरी भए आमाले आफ्नी बुहारी/छोरीलाई स्नातक/स्नातकोत्तर तहको कुनै पनि वर्ष वा सेमेष्टरमा भर्ना गर्न स्वयम्‌ले क्याम्पसमा लैजानुपर्ने व्यवस्था गरिएको छ । साथै महिला अभिभावक परिवारमा नभएमा एकासगोल परिवारभित्रका अन्य महिला नातेदारले पनि छोरी वा बुहारीलाई क्याम्पस भर्ना गर्न लैजान सक्ने व्यवस्था सूचनामा उल्लेख छ ।

लाभ लिन पुर्‍याउनु पर्ने विधिबारे थप उल्लेख गर्दै सूचनामा भनिएको छ, ‘अभिभावकसमेत नभएमा सम्बन्धित वडाको महिला वडा सदस्यले माथि उल्लेख भएको कार्यक्रमबाट लाभ पाउने छोरी वा बुहारीलाई स्नातक/स्नातोत्तर तह अध्ययनका लागि क्याम्पसमा भर्ना गर्न लैजानु पर्नेछ ।’

त्यस्तै, क्याम्पसले पनि माथि उल्लेख भए बमोजिमको प्रक्रिया पूरा गरी भर्ना हुन आउने दलित समुदायभित्रका छोरी/बुहारीलाई भर्ना गर्ने व्यवस्था मिलाउने र अभिलेख प्रयोजनका लागि भर्ना हुँदाका बखतको फोटो अनिवार्य खिच्न गाउँपालिकाले भनेको छ ।