काठमाडौं । भारत, जापान, अस्ट्रेलिया र अमेरिका आबद्ध क्वाड समूहले यतिबेला संयुक्त युद्धाभ्यास गरिरहेका छन् । अगस्ट ११ देखि सुरु भएको यस ‘मालाबार युद्ध अभ्यास’ सोमबार समाप्त हुँदैछ ।
चीनले क्वाड समूहलाई आफूलाई घेर्ने समूह भएको बताउँदै आएको छ । यस्तोमा अस्ट्रेलियाको समुद्री क्षेत्रमा चार देशका नौसेनाहरूले युद्धको अभ्यास गरिरहँदा चीनले यस कार्यलाई नजिकैबाट नियालिरहेको छ ।
२७औँ पटक मालाबार युद्ध अभ्यास आयोजना भएको हो । अस्ट्रेलियाका अनुसार यो सैन्य अभ्यास हिन्द–प्रशान्त क्षेत्रको एक महत्वपूर्ण सैन्य अभ्यास हो, जसले क्षेत्रीय साझेदारहरूबीचको अन्तर–सञ्चालनशीलतालाई गहिरो बनाउन मद्दत गर्छ । एबीसी न्युजका अनुसार चीनले आकाशबाटै यी चार राष्ट्रको युद्ध अभ्यासलाई यतिबेला भूउपग्रहको माध्यमबाट निगरानी गरिरहेको छ । अन्तरिक्ष सम्बन्धी स्पेस डेटा कम्पनीलाई उद्धृत गर्दै एबीसी न्युजले गत २२ जुलाईदेखि चीनका तीन सय भूउपग्रहले अस्ट्रेलियामा जारी गतिविधि र अहिलेको युद्ध अभ्यासलाई पनि चीनले निगरानी गरिरहेको रिपोर्ट सार्वजनिक गरेको हो ।
क्वाड समूहले खुला हिन्द–प्रशान्त क्षेत्रको वकालत गर्दै आएका छन् । चीनले सो क्षेत्रमा दादागिरी देखाइरहेको र त्यहाँ आक्रामक गतिविधि देखाएको भन्दै क्वाडले विरोध जनाउँदै आएको छ । हिन्द–प्रशान्त क्षेत्रमा चिनियाँ आक्रामकताविरुद्ध यी चार राष्ट्रले एक भएर उभिने प्रतिबद्धता व्यक्त गरेका छन् । तर, चीनले क्वाड समूहलाई आफूलाई घेर्न बनाइएको समूहको रूपमा व्याख्या गर्दै आएको छ ।
इन्डो–प्यासिफिक क्षेत्रमा पर्ने दक्षिण चीन सागरको ९० प्रतिशत पानीमा चीनले दाबी प्रस्तुत गर्ने गर्छ । चीनले त्यहाँ कृत्रिम टापु नै खडा गरेको छ । चीनसँगै दक्षिण चीन सागरलाई फिलिपिन्स, मलेसिया, भियतनामजस्ता राष्ट्रले पनि आफ्नो भएको बताउँछन् । जसका कारण यो जलक्षेत्र विवादमा छ । खुला हिन्द–प्रशान्त क्षेत्रको वकालत गर्दे क्वाडले चीनले दाबी गर्ने दक्षिण चीन सागरमा सैन्य जहाजहरू पठाउने गरेका छन् ।