काठमाडौं । भक्तपुर बाल सुधारगृहमा किशोरको मृत्यु भएको छ । रामेछाप मन्थली नगरपालिका–३ का १८ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको हो । उनी बलात्कार आरोपमा तीन वर्षदेखि सुधार गृहमा थिए ।
शनिबार राति बेहोस भएका बस्नेतलाई आइतबार बिहान उपचारका लागि भक्तपुरस्थित नागरिक अस्पताल लगिएको थियो । अस्पतालले केहीबेरमै मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए । अहिले शव पोष्टमर्टमको लागि काठमाडौं मेडिकल कलेज पठाइएको छ ।
बालकको मृत्यु भएपछि सुधारगृह परिसरमा उनका आफन्तले प्रदर्शन गरेका छन् । उनीहरूले सुधारगृहको लापरवाहीका कारण कमलको मृत्यु भएको आरोप लगाएका छन् ।
‘ढाडमा निलो डाम र दायाँ खुट्टा सुनिएको थियो । त्यसैले कुटपिट भएको हो,’ मृतकका भिनाजु विनोद बुढाथोकीले भने । उनका अनुसार आज बिहान पौने ७ बजे सुधारगृहले फोन गरेपछि आफन्त लिएर अस्पताल पुगेका थिए । उनीहरूलाई कमल बिरामी परेको पनि थाहा थिएन ।
बालसुधार गृहका कोअर्डिनेटर सन्तुलाल देशेमरूका कमल सामान्य बिरामी परेपछि ओषधी खुवाइएको थियो । उनी शनिबार बेलुका खाना खाएर सुतेका थिए । बिहान ढिलासम्म नउठेपछि अस्पताल पुर्याइएको कोअर्डिनेटर देसेमरूले बताए ।
‘के कारणले मृत्यु भयो भन्नेकुरा पोष्टमर्टम रिपोर्ट आएपछि थाहा हुन्छ,’ उनले भने । एक दुईदिन अघिदेखि सामान्य बिरामी भएको भन्ने सुन्नमा आएको पनि उनले बताए । कमलका परिवार र आफन्तसँग घटनाबारे छलफल चलिरहेको पोष्टमर्टम रिपोर्ट आएपछि थप अनुसन्धान हुने कोअर्डिनेटर देसेमरूँले बताए ।