काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक ओहदामा रहेका हरेक व्यक्तिको सम्पति सहितका व्यक्तिगत विवरण गोप्य राख्ने प्रचलन हटाउन कानुनी व्यवस्था गर्न जरुरी रहेको बताएका छन्। कानुनी व्यवस्था नै गरेर सार्वजनिक ओहदामा रहेका व्यक्तिले आफ्नो व्यक्तिगत सम्पत्ति विवरण गोप्य राख्न नपाउने अभ्यास सुरु गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ।
प्रधानमन्त्री प्रचण्डले सार्वजनिक निकायमा घुस, ढिलासुस्ती, गलत निर्णय, अपारदर्शी व्यवहार जस्ता विषयमा सूचना दिन उत्प्रेरित गर्न सूचनाको साक्षी संरक्षणसम्बन्धी कानुनी व्यवस्था गर्न जरूरी भइसकेको उल्लेख गरे।
आइतबार १७औं राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वमा भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रयोग भएको नयाँ प्रविधिमा आधारित ब्लकचेन टेक्नोलोजीको अध्ययन गर्न आवश्यक रहेको पनि बताए।