डोल्पामा बलात्कृत भएको ६ महिनापछि १५ वर्षीया बालिकाका अभिभावकले प्रहरीमा जाहेरी दिएका छन् । पीडित परिवारका अनुसार, डोल्पाको जगदुल्ला गाउँपालिकामा ९ जना युवा मिलेर १५ वर्षीय बालिकामाथि बलात्कार गरेका थिए । बालिकाकाे गर्भमा ६ महिनाकाे बच्चा रहेकाे पुष्टि भएपछि घटनाबारे बालिकाले भनेकी हुन् ।
बालिकाका परिवारले जिल्ला प्रहरी कार्यालय डोल्पामा उजुरी दिएसँगै संलग्न ९ मध्ये ३ जना पक्राउ परेका छन् । केही दिनअघि आफन्तहरूले बालिकामाथि स्थानीय ९ जना केटाहरूले बलात्कार गरेको आरोपमा किटानी जाहेरी दर्ता गराएपछि संलग्नमध्ये ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार, पक्राउ परेका ३ मध्ये एक जनालाई मुगुबाट, २ जनालाई जुम्लाबाट पक्राउ गरिएको हाे । अन्य सबै फरार छन् । भागेकाहरूलाई पक्राउ गर्न सजिलो हाेस् भनेर उनीहरूको पहिचान गोप्य राखेको प्रहरीले जनाएको छ ।
‘पहिला घटनाबारे थाहा भएन । पछि बालिकाको पेटमा बच्चा हुर्कँदै गएको परिवारले थाहा पाएपछि आफन्तले उनीहरूका नाममा किटानी जाहेरी दिनुभएको छ’, डीएसपी बुढाथोकीले भने ।