नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा शुक्रबार पनि बन्दुकधारीहरूले कुकी समुदायका तीन जना सदस्यको हत्या गरेको प्रहरीले जनाएको छ । मणिपुरको राजधानी सहर इम्फालबाट करिब ३३ किलोमिटर उत्तरपूर्वमा रहेको उखरुल जिल्लाको थोवाई कुकी गाउँमा दिउँसो ती पुरुषहरूलाई गोली हानी हत्या गरिएको थियो ।
‘गाउँको पूर्वमा रहेको पहाडबाट हतियारधारी आतंककारीहरूको समूह गाउँमा पसेर गाउँका गार्डहरूमाथि गोली चलाउन थाले । घटनामा गाउँका तीन जनाको मृत्यु भएको छ,’ उखरुलका एक वरिष्ठ प्रहरी अधिकारी निङ्शेम वासुमले बताएका छन् । मारिएका मानिसहरू स्वेच्छाले गाउँको सुरक्षा गरिरहेको बुझिएको छ ।
हत्यापछि सरकारी सेना आक्रमणकारीलाई पक्रन गाउँमा पुगेका थिए । बहुसङ्ख्यक मेइती समूह र आदिवासी कुकी अल्पसङ्ख्यकबीच जातीय द्वन्द्वका कारण जारी हिंसामा हालसम्म राज्यमा १५० भन्दा बढीको ज्यान गएको छ । भीडले तोडफोड र आगजनी गरेको छ, जसमा सयौं घर र पसलहरू जलाइएको छ ।