• मंसिर १४ २०८१, शुक्रबार

फेरि बस्यो प्रत्येक नेपालीको थाप्लोमा ७६ हजार ऋणको भार

भाद्र १ २०८०, शुक्रबार

काठमाडौं । नेपाल सरकारले तिर्न बाँकी कुल ऋण २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले २०८० को असार मसान्तसम्म नेपालले तिर्न बाँकी ऋण २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको जनाएको हो । अर्थात् प्रत्येक नेपालीको भागमा ७६ हजार ६९ रुपैयाँभन्दा बढी ऋण परेको छ ।

तिर्न बाँकी ऋणमध्ये बाह्य ऋण १० खर्ब ९३ अर्ब ३५ करोड रुपैयाँ र आन्तरिक ऋण ११ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९/०८० मा कुल सार्वजनिक ऋणको कुल ग्रार्हस्थ्य उत्पादनसँगको अनुपात ४१.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ४०.७ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार नेपालले तिर्न बाँकी कुल ऋण आर्थिक वर्ष २०७७/७८ मा १७ खर्ब ३५ अर्ब दुई करोड रुपैयाँ र २०७८र/७९ मा २० खर्ब १० अर्ब १३ करोड रुपैयाँ रहेको थियो ।

आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारले दुई खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको छ भने एक खर्ब १५ अर्ब ९ करोड रुपैयाँ साँवा भुक्तानी गरेको छ । यसर्थ, यस अवधिमा एक खर्ब ४० अर्ब ९० करोड रुपैयाँ खुद आन्तरिक ऋण परिचालन भएको छ ।

यो रकम कुल ग्रार्हस्थ्य उत्पादनको २.६ प्रतिशत हुन आउँछ । यस अवधिमा सरकारले एक खर्ब दुई अर्ब १२ करोड रुपैयाँ बाह्य ऋण परिचालन गरेको छ ।