काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरूद्धको अभियान कुनैपनि हालतमा नरोकिने प्रष्ट पारेका छन् ।
शुक्रबार गोरखामा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले भ्रष्टाचारी, ठग र तस्करहरूलाई संरक्षण गर्ने तत्वहरू सलबलाउन थालेका र उनीहरू यो अभियानलाई कसरी भाँजो हाल्न सकिन्छ भन्ने षड्यन्त्र गरिरहेका भएपनि उनीहरूका षड्यन्त्रले सरकारको अभियान नरोकिने बताएका हुन् ।
सरकार अप्ठ्यारोमा पर्छ भनेपनि सुशासनको अभियान रोक्ने पक्षमा वर्तमान सरकार नरहेको उनले बताए । ‘तस्कर र ठग, भ्रष्टाचारीका संरक्षकहरूले सरकारलाई अप्ठ्यारो पारे भनेर तैँ चुप मै चुप भएर बसौं, पहिला जे छ त्यस्तै गरी चलौं भन्ने पक्षमा सरकार छैन,’ उनले भने ।
मन्त्री श्रेष्ठले सरकारलाई धम्काएर र घेराबन्दी गरेर कसैले आफ्नो सपना पूरा हुन्छ भन्ने नसोच्न पनि आग्रह गरेका छन् ।
‘जुन बिन्दुसम्म पदमा बस्छौं देश र जनताका निम्ति प्रतिबद्ध भएर काम गर्छौं । यो अभियान हामी बिसर्जित गर्दैनौं । निरन्तर अगाडि बढाउँछौं,’ उनले भने ।