• जेष्ठ ३१ २०८२, शुक्रबार

काठमाडौं महानगरको सहरी योजना आयोगको उपाध्यक्षमा डा. राजभण्डारी नियुक्त

श्रावण ३२ २०८०, बिहीबार

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्षमा डा. सुमननरसिंह राजभण्डारी नियुक्त भएका छन् । विहीबार बसेको महानगरपालिकाको २१औं कार्यपालिका बैठकले राजभण्डारीको नाम सर्वसम्मतले स्वीकृत गरेको हो ।

शहरी योजना आयोगको उपाधयक्षमा राजभण्डारीको नाम पेश भएपछि कार्यपालिका सदस्यहरुले यसअघिका उपाध्यक्ष तेजेन्द्र खड्कलाई किन नियुक्ति गरेको ? र किन हटाएको भन्दै प्रश्न गरेका थिए ।

जवाफमा मेयर बालेन साहले यसअघिका उपाध्यक्ष लामो विदामा बस्न खोजेपछि पदलाई खाली राख्न नहुने भन्दै राजभण्डारी नियुक्त गर्न प्रस्ताव गरेको बताएका थिए । कार्यपालिका बैठकमा बालेनले राजभण्डारीलाई पहिले नै नियुक्त गर्न खोजे पनि राष्ट्रिय योजना आयोगमा जाने तयारीका कारण रोकिएको समेत बताएका छन् ।

राजभण्डारी बालेनसँग निकट स्ट्रक्चरल इन्जिनियर हुन् । राजभण्डारीलाई मेयर हुनुअघि बालेनले इन्जिनियरिङको काममा सहयोग गर्दै आएका थिए । चालु आर्थिक वर्षमा सहरी योजना आयोगमा महानगरले ४ करोड ९० लाख रुपैयाँ बजेट रहेको विनियोजन गरेको छ । योजना आयोगका उपाध्यक्षले मेयर र कार्यपालिकामार्फत् बजेटमा योजनाहरुको छनोट लगायतको काम गर्छ ।

महानगरको सहरी योजना आयोगको उपाध्यक्ष हुन मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीणर् गरेर सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेर विशिष्टता हासिल गरेको हुनुपर्ने उल्लेख छ । काठमाडौं महानगरपालिका सहरी योजना आयोग उपाध्यक्षले नेपाल सरकारको सचिवले पाएसरह सुविधा पाउँछन् ।