• जेष्ठ ३० २०८२, बिहीबार

लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे सडकदेखि सदनसम्म आन्दोलन गर्ने रेशमले दिए चेतावनी

श्रावण ३२ २०८०, बिहीबार

काठमाडौं । थरुहट आन्दोलनका नेतृत्वकर्ता तथा नागरिक उन्मुक्ति पार्टीका सं‌रक्षक रेशम चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। बुधबार सर्वोच्च अदालतले रेशमसहित टीकापुर घटनाको मुद्दाको अन्तिम फैसलाको पूर्णपाठ सार्वजनिक गरेपछि उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन्।

प्रतिवेदन सार्वजनिक नगरे सडक, सदन र सरकारमा आन्दोलन गर्ने चेतावनी उनले दिएका छन्। ‘सबैकुरा मैले बोल्नैपर्छ भन्ने छैन, अन्तरंग सबै कुराले हामीमाथिको व्यवहार पुष्टि गर्छ। हामीले सबै कुरा सह्यौँ, सहिराखेका छौँ तर कहिलेसम्म सहने?’ बिहीबार सामाजिक सञ्जाल फेसबुकमा उनले भनेका छन्, ‘ हाम्रो विशुद्ध राजनीतिमा घुसपैठ गराएर अझै पुनः हाम्रै मान्छे प्रयोग गरेर हामीलाई अलग्याउन खोज्नु कदापि राम्रो होइन।’

उनले समय आए सबै प्रकारको सामना गर्न आफू तयार रहेको बताएका छन्। टीकापुर घटनाको मुद्दामा बुधबार सार्वजनिक गरिएको पूर्णपाठमा सर्वोच्चले फौजदारी न्याय प्रणालीदेखि चौधरीको घटनामा संलग्नताबारे पनि विस्तृत व्याख्या गरेको छ। टीकापुर घटनामा जन्मकैदको सजाय भएका चौधरी सरकारबाट सजाय माफी पाएर रिहा हुँदै अहिले खुल्ला रुपमा अनौपचारिक राजनीतिमा सक्रिय रहेका छन्।