• जेष्ठ ३० २०८२, बिहीबार

प्रधान सेनापति शर्मा र चिनियाँ जनमुक्तिसेनाका कमाण्डरबीच भेटवार्ता

श्रावण ३१ २०८०, बुधबार

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र चिनियाँ जनमुक्ति सेनाका तिब्बत मिलिट्री कमान्डर मेजर जनरल युइ एन देबीच शिष्टाचार भेट भएको छ ।

सैनिक मुख्यालय जंगी अड्डामा उनीहरूबीच भेटवार्ता भएको हो । उनीहरूबीच तालिम, सैनिक सहायतालगायत द्विपक्षीय हित र आपसी चासोका विषयमा छलफल भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देनालयले जनाएको छ । कोभिडका कारण नेपाल र चिनियाँ जनमुक्ति सेनाबीचहुँदै आएको सैन्य अभ्याससमेत रोकिएको छ । उक्त सैनिक अभ्यास सुचारु गर्नेबारे समेत उनीहरूबीच छलफल भएको स्रोतले बताएको छ ।

आठ सदस्यीय टोलीको नेतृत्व गर्दै मेजर जनरल युइ एन दे बुधबार काठमाडौं आइपुगेका हुन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उनीहरूलाई नेपाली सेनाका उपरथी सागरबहादुर थापाले स्वागत गरेका थिए ।
चिनियाँ सैनिक अधिकारीहरूले सैनिक कमाण्ड तथा स्टाफ कलेज, सैनिक संग्रहालयसहित पर्यटकीय क्षेत्रको अवलोकन गर्ने नेपाली सेनाले जनाएको छ ।

‘यस किसिमको भ्रमणले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।