प्योङयाङ । उत्तर कोरियाले अमेरिकी सेना ट्र्याभिस किङ आफ्नो देशमा आएको विषयमा दोस्रोपटक अभिव्यक्ति दिएको छ । यसअघि उत्तर कोरियाले ट्र्याभिस आफ्नो देशमा हिरासतमा रहेको पुष्टि गरेको थियो । यतिबेला भने अमेरिकी सेनामा हुने रंगभेद र हेपाहा प्रवृत्तिबाट जोगिन उनी उत्तर कोरिया आएको बताएको छ ।
गत जुलाई १८ मा संयुक्त राष्ट्रसंघको भ्रमण टोलीमा समावेश भएर ट्र्याभिस अन्य व्यक्तिहरूसँगै उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा रहेको असैनिकिकृत क्षेत्र डीएमजेट पुगेका थिए । त्यसपछि उनी उत्तर कोरियातर्फ भागेका थिए । उत्तर कोरिया भागेका उनको सुरक्षा अवस्थालाई लिएर बारम्बार चिन्ता व्यक्त गरिएको छ ।
यसैबीचमा उत्तर कोरियाले काला जातिको भएकाले ट्र्याभिसलाई अमेरिकी सेनाभित्रै अमानवीय व्यवहार गरिने र रंगभेद हुने दाबी गरेको हो । ट्र्याभिसले उत्तर कोरियासँग शरण मागेको पनि उत्तर कोरियाको भनाइ छ । अमेरिकाले भने उत्तर कोरियाली दाबीमा सत्यता नभएको बताएको छ ।
ट्र्याभिसको भनाइ उद्धृत गर्दै केसीएनएले भनेको छ, ‘अनुसन्धानका क्रममा ट्र्याभिसले अवैधानिक रूपमा उत्तर कोरिया घुसेको स्वीकार गरे । उनले अमेरिकी सेनाभित्र हुने अमानवीय व्यवहार र रंगभेद सहन नसकेर भागेको बताएका छन् । उनले उत्तर कोरियामा अथवा तेस्रो मुलुकमा शरण मागेका छन् ।’
यूएन कमान्डअन्तर्गत दक्षिण कोरियामा तैनाथ अमेरिकी सेना ट्र्याभिसलाई यतिबेला उत्तर कोरियाबाट फर्काउन हरसम्भव प्रयास जारी राखिएको छ । उत्तर कोरियाको पछिल्लो अभिव्यक्तिमा उनलाई कहाँ राखिएको छ र उनको अवस्था कस्तो छ भनेर केही बताएको छैन ।
अनुशासन कारबाहीमा परेका ट्र्याभिसले दक्षिण कोरियाली प्रहरीको कारमा तोडफोड गरेका थिए भने बारभित्र एक व्यक्तिमाथि कुटपिट गरेका थिए । उनलाई दुई महिना दक्षिण कोरियाको हिरासतमा राखिएको थियो र अमेरिका फर्काउने प्रक्रिया चलिरहँदा उनी उत्तर कोरिया भागेका हुन् ।