काठमाडौं । राष्ट्रियसभाका सदस्य वामदेव गौतमले जातीय विभेद र उत्पीडन गर्नेहरूमाथि आजीवन कारावासको सजाय दिने कानुन बनाउन सरकारसँग माग गरेका छन् । मृत्युदण्डको कानुनी व्यवस्था गरेपछि मात्रै अमेरिका लगायतका मुलुकमा जातीय तथा वर्णभेद अन्त्य भएको उल्लेख गर्दै गौतमले नेपालमा पनि त्यसको अन्त्यका लागि सरकारले पीडकलाई आजीवन कारावासको सजाय दिनेगरी कानुनी व्यवस्था गर्नुपर्ने बताए ।
‘जसले त्यस किसिमको विभेद गर्छ, त्यसलाई हाम्रो देशको कानुनअनुसार सबभन्दा ठूलो सजाय भनेको आजीवन कारवासको हो । आजीवन कारावास हुने किसिमको कानुन बनाऔं’ गौतमले भने ।
आज पनि नेपाल र भारतमा जातीय विभेदले पीडित हुनुपरेकोमा आपत्ति जनाउँदै गौतमले त्यसको अन्त्य अब पीडकलाई सम्झाएर, बुझाएर नहुने बताए । मंगलबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा गौतमले नेपालको संविधानले जातीय विभेदलाई गम्भीर अपराधको रूपमा लिए पनि त्यस अनुसारको कानुन नबन्दा त्यसबाट हुने उत्पीडन अझै कायमै रहेको तर्क गरे ।
‘अब यहाँ सम्झाउने, बुझाउने अनेक विषयहरू भए र, त्यस सम्बन्धमा पनि खर्च धेरै भएको छ । तर हाम्रो देशको मात्र होइन, जातिभेद, वर्णभेदजस्ता समस्याबाट संसार अरु देशहरू पनि पीडित भएका छन् तर अहिले जातिभेदबाट पीडित हुने भारत र नेपाल नै हो,’ उनले भने ।