काठमाडौं । नेकपा एमालेले दुई जना नेतालाई पार्टीबाट बिदा गरेको छ । साथै एक जना स्थायी कमिटी सदस्यलाई भने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
सोमबार बसेको नेकपा एमाले केन्द्रीय सचिवालय बैठकले पूर्वमन्त्री र प्रदेश सभा सदस्य समेत रहेका केशव स्थापित र केन्द्रीय सदस्य प्रमोदनारायण यादव (सिराहा)लाई पार्टीबाट हटाएको छ । साथै एमालेका स्थायी कमिटी सदस्य मणि थापालाई हटाउनका लागि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
नेकपा विघटनको समयमा नेकपा एमालेतर्फ लागेर तत्काली केपी शर्मा ओलीको कार्यकालमा मन्त्री बनेका थापा गत वर्षको प्रतिनिधिसभाको निर्वाचनदेखि निष्कृय बसेका थिए । प्रतिनिधि सभाको निर्वाचनको समयमा एमाले दक्षिणपन्थी पार्टी भएको भन्दै काभ्रेमा भाषण गरेपछि उनी एमाले अध्यक्ष ओलीको निशानीमा परेका थिए । एमाले अध्यक्ष ओलीको निशानीमा परेसँगै उनी पार्टी काममा निष्क्रिय भएर विदामा बसेका थिए ।
पछिल्लो समय थापा पार्टी बैठकमा अनुपस्थित हुने र एमालेको पार्टी काममा समेत सहभागी हुन छाडेका थिए । थापाले आफूलाई एमालेले कारबाही गर्नका लागि स्पष्टीकरण सोधिदिए हुन्थ्यो भन्ने चाहना विभिन्न सञ्चारमाध्यममा अभिव्यक्ति दिएका थिए । थापाकै चाहना अनुसार एमालेको सोमबारको सचिवालय बैठकले स्पष्टीकरण सोध्ने निर्णय गर्यो । एमालेका एक पदाधिकारीका अनुसार स्थायी कमिटी सदस्य थापाको हकमा एकपटक स्पष्टीकरण सोधेपछि निर्णयमा पुग्ने निर्णय सचिवालयले गरेको छ ।