• जेष्ठ ३० २०८२, बिहीबार

२ करोड ठगेको भन्दै नक्कली शरणार्थी काण्डमा थप १८ जनाले हाले उजुरी

श्रावण २९ २०८०, सोमबार

काठमाडौं । नक्कली भूटानी शरणार्थी बनाई अमेरिका लैजाने लोभ देखाएर रकम ठगी गरेको घटनाका थप १८ जना पीडितले प्रहरीमा जाहेरी दिएका छन् ।

उनीहरूले एक करोड ८५ लाख ९२ हजारभन्दा बढी ठगी भएको भनी तीनवटा छुट्टाछुट्टै किटानी जाहेरी दिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यसअघि एक सय १५ जना व्यक्तिले जाहेरी दिएका थिए । कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले सानु भण्डारी, केशव दुलालसमेतको संयुक्त मिलेमतोमा आफूहरूलाई भूटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाडौँ लगायतका जिल्लाका १८ जना पीडितले जाहेरी दिएका बताए ।

उनीहरूले दिएको सक्कल जाहेरी दरखास्त लगायतका कागजातहरू आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आजै जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।

उक्त प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भूटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत १८ जना पक्राउ परेका छन् ।

उनीहरूमध्ये अधिकांश पुर्पक्षका लागि थुनामा छन् । शरणार्थी प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । उनीहरूविरुद्ध कीर्ते, ठगी, सङ्गठित अपराध, राज्य विरुद्धको र एकीकृत कसुरसमेत गरेकाले सोहीअनुसार सजायको माग दाबीसहित मुद्दा दर्ता गरिएको थियो ।