• जेष्ठ ३० २०८२, बिहीबार

निर्माण व्यवसायीका माग पूरा गर्न ६ सदस्यीय समिति गठन

श्रावण २९ २०८०, सोमबार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाले निर्माण व्यवसायी महासंघले उठाएका मागका बारेमा छलफल गरेका छन् । सोमबार प्रधानमन्त्री दाहालले निर्माण व्यवसायीका माग सम्बोधन गर्न छलफल गरेका हुन् ।

छलफलमा सम्पन्न कामको भुक्तानी, मूल्य अभिवृद्धि कर लगायतका विषयमा अर्थ मन्त्रालय र सम्बद्ध विषयगत मन्त्रालयहरूले आपसी समन्वयमा यथाशीघ्र माग सम्बोधन गर्ने प्रधानमन्त्रीले निर्देशन दिए ।

यस्तै उनले निर्माण व्यवसायीहरूले उठाएका सार्वजनिक खरिद सम्बन्धी कानून संशोधन लगायतका अन्य मागहरूको सम्बोधन गर्न पनि निर्देशन दिएका छन् । छलफलमा विषयगत मन्त्रालयका मन्त्री र सचिवको सहभागिता रहेको थियो ।

यस्तै निर्माण व्यवसायीहरुका माग सम्बोधन गर्न सरकारले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा. दामोदर रेग्मीको संयोजकत्वमा विषयगत मन्त्रालयका सहसचिवहरू सदस्य रहने गरी ६ सदस्यीय कार्यदल गठन गरिएको छ । सो कार्यदलले सरोकारवालाहरूसँग छलफल, परामर्श र समन्वय गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने छ ।