काठमाडौं । एमालेले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग राखेर संसद अवरुद्ध गरिरहेका बेला सत्ता साझेदार कांग्रेसभित्र पनि यो माग उठेको छ । आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा केन्द्रीय सदस्य डा. शेखर कोइराला र प्रदीप पौडेलले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने एमालेको जस्तै धारणा राखे ।
नेता कोइरालाले एमालेले उच्चस्तरीय समिति किन माग गरिरहेको छ भन्नेबारे कांग्रेसले पनि सोच्नुपर्ने बताए । ‘एमालेले किन उच्चस्तरीय समिति गठनको माग गरिरहेको छ भनेर कहिल्यै सोच्यौं हामीले’ शेखरले भने, ‘नेपाललाई तस्करको अखडाबाट बन्द गर्न यो जरुरी छ ।’ उनले भारतमा वर्षमा १४०० टन सुन खपत हुने गरेको तर ९०० टन मात्र वैधानिक प्रक्रियाबाट आयात हुने गरेको बताए ।
‘४०० देखि ५०० टन सुन नेपालबाट जाँदैछ भन्ने बुझ्न जरुरी छ’ शेखरले भने । प्रधानमन्त्री पुष्पकमल दाहालको स्वकीय सचिव रहेका नवराज ढुङ्गानालाई राजश्व अनुुसन्धान विभागको प्रमुख बनाएकोप्रति पनि उनले आशंका गरे । प्रचण्डको सचिवालयमा काम गरेका व्यक्ति राजश्व अनुसन्धान विभागमा गएपछि सुन समातिएको भन्दै कोइरालाले भने, ‘त्यसपछिका घटनाहरु हेर्नुस्, के भइरहेको छ ? नेपाललाई तस्करको अखडाबाट बन्द गर्न यो जरुरी छ ।’
केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि सुन तस्करी प्रकरणसहित हाल चर्चामा रहेका अन्य घटनाहरुको छानबिनका लागि पनि उच्चस्तरीय समिति बन्नुपर्ने बताए ।
‘कांग्रेसको संसदीय दलको बैठकले आजसम्मका जतिपनि चर्चित घटनाहरु छन्, ती सबै घटनाहरुको छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाउने निर्णय गर्नुपर्छ । यदि त्यो निर्णय हामीले गरिसकेपछि सरकारले मानेन, प्रधानमन्त्रीले मान्नुभएन भने यो सरकारप्रतिको समर्थन हामीले फिर्ता लिनुपर्छ’ पौडेलले भने । उनले सरकारले उच्चस्तरीय समिति गठन गर्न उत्साह नदेखाउनु पनि शंकास्पद भएको बताए ।
‘यो सियो आएको होइन । एक क्विन्टल सुन आएको हो । अध्यागमन प्रशासन नमिलाइकन त्यो सुन नेपालभित्र छिर्नै सक्दैन । एयरपोर्टमा भएको सुरक्षा संयन्त्रलाई नमिलाएसम्म त्यो नेपालभित्र छिर्न सक्दैन’ नेता पौडेलले भने ।
पौडेलले अगाडि भने, ‘राजनीतिक नेतृत्वको संलग्नता छ, छैन योभन्दा अगाडि भन्न सकिदैनथ्यो । तर अब छानविनमा धेरै उत्साह नदेखाएको कारणले राजनीतिक नेतृत्वमाथि पनि शंका गर्नुपर्ने स्थिति बनेको छ । आज तिनहप्ता भइसक्यो । भरिया मात्रै समातेको छ । भारी बोकाउनेलाई किन समातिएन आजसम्म ?’
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट पास भएको करिब एक क्विन्टल सुन २ साउनमा राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । सो प्रकरणमा १८ जना पक्राउ परेका छन् र हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ ।
प्रमुख प्रतिपक्षी एमालेले यो प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतमाथि नै छानबिन गर्नुपर्ने भन्दै उच्चस्तरीय समिति गठनको माग गर्दै आएको छ । कांग्रेस संसदीय दलको बैठकमा शुक्रबारदेखि आइतबारसम्म ५० जनाले आफ्नो विचार व्यक्त गरे । धेरैले सरकारप्रति असन्तुष्टि र गुनासो राखेका छन्, मन्त्रीबाहेक अरुले सरकारको पक्षमा धारणा राखेका छैनन् ।