• जेष्ठ २९ २०८२, बुधबार

ओलीको पत्रकार सम्मेलन,‘३३ किलो सुन पत्ता लगाउन नसकेपनि आरोपितलाई जेल हालेकै हौं’

श्रावण २८ २०८०, आईतवार

काठमाडौं । लगातार संसद अवरोध गरेपछि आलोचना खेपिरहेको एमालेले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै संसद अवरोधबारे प्रस्टीकरण दिएको छ ।

एमाले अध्यक्ष केपी ओलीले एक क्वीन्टल सुन प्रकरणमा किन उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने हो भन्ने विषयमा आफ्ना तर्कहरू पेस गरेका छन् ।पछिल्लो समय एमालेले निरन्तर रूपमा संसद अवरुद्ध पार्दै आएको छ । जनप्रतिनिधिले जनताको आवाज उठाउने मूल थलो संसदलाई नै एमालेले बन्धक बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । संसद अवरुद्ध पारेको विषयमा एमाले रक्षात्मक बनिरहेको बेला ओलीले पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।

त्यसो त एमाले नेताहरूले संसद अवरुद्ध पारेको विषयमा प्रतिक्रिया दिइनै रहेका छन् । ओलीले पनि विभिन्न कार्यक्रममा यसबारे टिप्पणी गरिरहेका छन् । आइतबारको पत्रकार सम्मेलनमा ओलीले मूलतः उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निशाना बनाएर सरकारको आलोचना गरे ।

उनले आफूहरूले नभएर सरकारले नै संसद अवरोध गरेको जिकिर गरे । अनि अहिलेको संसदले संसदीय मर्यादा राख्न नसकेको टिप्पणी गरे । ‘संसद प्रतिपक्षले अवरोध गरेको भनेर आरोप लगाएको छ । संसद अवरुद्ध सत्ता पक्षले गरेको हो । अहिलेको संसदले संसदीय मर्यादा राख्न सक्दैन,’ उनले भने ।

पछिल्लो समय सरकारले सुशासनको अभियान सुरु गरिएको प्रतिक्रिया दिँदै आएको छ । तर, ओलीले सरकारले नै भ्रष्टाचार गरेको तर्क गरे । एक क्विन्टल सुन प्रकरणमा सरकारले टुप्पो टुप्पो मात्र हेरेको टिप्पणी गरे । यो सरकारले सुन प्रकरणमा गहिरो छानबिन गर्न नचाहनुमा उसको संलग्नता रहेको देखाएको दाबी गरे । अनि कांग्रेस सांसद सुनिल शर्माको बचाउ गरे । शर्माले गृह र अर्थमन्त्रीको राजीनामा मागेपछि प्रतिशोध साधेर उनलाई पक्राउ गरिएको ओलीको टिप्पणी थियो ।

‘सुनिल शर्माको सटिर्फिकेट अहिले किन छानबिन गर्नुपरेको ? सुनिल शर्माले मन्त्रीमाथि छानबिन गर्न भनेपछि उनको सटिर्फिकेटको छानबिन गर्नु गलत हो । शर्मालाई पक्राउ गर्नुभन्दा पहिला सभामुखलाई किन जानकारी गराएन ?’ ओलीले भने, ‘कार्यकर्तालाई उजुरी हाल्न लगाएर तर्साउने, सांसदलाई त यस्तो गरिहरहेको छन् भने अरुको अवस्था के होला ?’ तर, अदालतले उनलाई छाडिदिएको उनले बताए । ‘अदालतले तत्काल किन छोड्यो सुनिल शर्मालाई ?’ उनले पत्रकार सम्मेलनमा प्रतिप्रश्न गरे, ‘सुनिल शर्मा जत्तिको अपस्पताल चलाएर बसेको सांसद के देश छोडेर भाग्ला, किन सरकारले हतार हतार समातेर कारबाही गर्न खोज्यो ?’

गृहमन्त्री श्रेष्ठमाथि निशाना साँध्दै ओलीले अब उनले रोष्ट्रममा जाने भनेको राजीनामा दिनका लागि मात्र भएको टिप्पणी गरे । तर लाजै नमानी रोष्ट्रममा उभिएर श्रेष्ठले प्रश्न गरेको ओलीले तर्क गरे । ओलीले आफ्नो पालामा ३३ किलो सुन फेला पार्न नसके पनि त्यसका आरोपितलाई जेल हालेको भन्दै जस लिए ।

‘३३ किलो सुन पत्ता लगाउन सकेनौँ, तर आरोपिलाई जेल हालेका छौँ । ३३ किलो सुन हाम्रो सरकार बन्नु भन्दा पहिला नै आएको हो । मैले सुन नभेट्टाए पनि उनीहरूमाथि कारबाही गर्यौं,’ ओलीले भने, ‘अहिले पनि जेल रहेको छन् । सुन बाहिर पठाएको रहेछ । पत्ता लगाउन सकिएन ।’