• फाल्गुन २६ २०८२, मंगलवार

पैसा लिई सेनामा भर्ती हुन अयोग्य रिपोर्ट बनाउने काममा संलग्न ३३ युक्रेनी सैन्य कमाण्डर बर्खास्त

श्रावण २८ २०८०, आईतवार

किभ । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आफ्ना देशमा रहेका सैन्य भर्ती केन्द्रहरूका ३३ जना प्रमुखलाई बर्खास्त गरेका छन् । सैन्य भर्ती केन्द्रमा जारी भ्रष्टाचारलाई रोक्न भन्दै गत शुक्रबार जेलेन्स्कीले राजधानी किभबाट यस्तो घोषणा गरेका हुन् ।

गत वर्षको फेब्रुअरीदेखि रुसले युक्रेनमा आक्रमण जारी राखेको छ, यस्तो अवस्थामा युक्रेनमा युद्ध लड्नसक्ने क्षमता भएका पुरुषहरूलाई देशबाहिर जान नदिने नियम लाइएको छ । तर, सैन्य भर्ती केन्द्रका प्रमुखहरूले भने युद्ध लड्न सक्षम पुरुषहरूलाई सेनामा भर्ती गराउनुको साटो पैसा लिएर उनीहरूलाई देश बाहिर जान मद्दत गरिरहेको विषय अनुसन्धान पछि खुलेको छ ।

रुसविरुद्ध लड्न युक्रेनलाई धेरैभन्दा धेरै युवाको खाँचो छ । तर भर्ती केन्द्रहरूमा व्याप्त भ्रष्टाचारले सेनाको पूर्ति हुन सकेको छैन । यतिबेला सैन्य भर्ती केन्द्रका प्रमुखहरूविरुद्ध ११२ वटा आपराधिक मुद्दा दर्ता गरिएका छन् । जेलेन्स्कीले देशविरुद्ध गद्दारी गर्नेहरूलाई नछाड्ने चेतावनी दिएका छन् । उनका अनुसार युद्धका बेला भ्रष्टाचार गरिनु देशद्रोह हो ।

गत महिना युक्रेनको क्रामाटोर्कर्स जिल्लामा रहेको सैन्य भर्ती केन्द्रमा युवाहरूलाई सेनामा भर्ती हुन अयोग्य बनाउन घुस लिएको विषय सार्वजनिक भएको थियो । त्यहाँका अधिकारीहरूले शारीरिक रूपमा तन्दुरुस्त र युद्धका लागि सक्षम युवाको पनि झुठो मेडिकल रिपोर्ट बनाएको विषय सार्वजनिक भएपछि सैन्य भर्ती केन्द्रमा व्याप्त भ्रष्टाचारको विषय छताछुल्ल भएको थियो ।

झुठो मेडिकल रिपोर्टमा युवाहरूलाई युद्ध मैदानमा जान अयोग्य भनिएको छ । यो कामका लागि ६ हजार अमेरिकी डलरसम्म घुस लेनदेन हुने गरेको विवरण सार्वजनिक भएका छन् ।

एकातिर राष्ट्रपति जेलेन्स्कीले देशभक्त युवालाई सेनामा भर्ती हुन भनिरहेका छन्, तर अर्कोतिर युवाहरू भने देश छाड्न चाहिरहेका छन् । पछिल्लो घटनाक्रमले युक्रेनी युवा सेना बन्न नचाहने स्पष्ट हुन्छ ।