काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले कांग्रेस टिप्पणी गर्न लायकको पार्टी नरहेको दाबी गरेका छन् । संसदको सबैभन्दा ठुलो दल कांग्रेसलाई सानो दलको पछि लाग्ने रहर नसकिएसम्म आफूले केही पनि प्रतिक्रिया नदिने ओलीको भनाई थियो ।
उनले पुच्छरले कुकुर हल्लाए जस्तो भूमिकामा संसदको सबैभन्दा ठुलो दल कांग्रेस रहेकोमा आफू छक्क परेको बताए ।
ओलीले भने, ‘देशको सबभन्दा ठुलो पार्टी नेपाली कांग्रेस अहिले धेरै सिटसँग ऊसँग पार्लियामेन्टमा । अब यसको त मैले टिप्पणी गरिरहनु भएन । उहाँहरूले कसको पछाडि आफूलाई लगाउनु भएको हो, के को पछि लाग्नुभएको हो ? त्यो उहाँहरूले जान्ने कुरा हो । म केही पनि भन्दिन । मेरो कुनै कमेन्ट छैन । २०१५ सालको संसदमा एक पल्ट केदारमान व्यथितजीले होला । पुच्छरले कुकुर हल्लाउने कि कुकुरले पुच्छर हल्लाउने ? भनेर प्रश्न गर्नुभएको थियो । नेपाली काँग्रेसका साथीहरूलाई आज मितिमा म फेरि प्रश्न गर्न चाहन्छु-कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर हल्लाउने हो ? अचम्म लाग्छ । पछाडि पुच्छर चुप लागेर बसेको छ । अगाडि नेपाली कांग्रेस डोलायमान छ । त डोले, मेरो मन डोले भनेर गीत गाएर बसेको छ । त्यो उहाँहरूको मामिला हो । मेरो यसमा कुनै कमेन्ट छैन । तपाईंहरूलाई यसैगरी चार वटा मन्त्री लिएर साना पार्टीको पछि हिँड्ने रहर लागिन्जेलसम्म त्यो पूरा भइरहोस् । मेरो शुभकामना छ । तपाईंहरूलाई मन लागुन्जेल । लागेन भने बेग्लै कुरा हो ।’
अध्यक्ष ओलीले प्रतिशोधको राजनीति नगर्न प्रधानमन्त्री दाहाललाई पनि चेतावनी दिए । प्रधानमन्त्री दाहालको पाकिस्तानी शैलीको प्रतिशोधको राजनीति धेरै नटिक्ने उल्लेख गर्दै उनले त्यस्ता कार्यमा सरकारले हौसिन नहुने पनि बताए ।