इस्लामावाद । पाकिस्तानको संसद विघटन गरिएसँगै त्यहाँ अन्तरिम सरकार बन्दैछ । मौजुदा प्रधानमन्त्री शहवाज सरीफ र निवर्तमान प्रमुख विपक्षी दलका नेता राजा रियाजले अन्तरिम प्रधानमन्त्रीको नाम सिफारिस गरेका छन् ।
उनीहरूले अनवर उल हक काकरको नाम अन्तरिम प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको अन्तरष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । तीन दिन अगाडि पाकिस्तानमा संसद भंग गरिएको थियो । संसद भंगपछि प्रधानमन्त्री सरीफलाई तीन दिनभित्र कार्यबाहक प्रधानमन्त्रीको नाम सिफारिस गर्न राष्ट्रपतिले समय दिएका थिए ।
राष्ट्रपतिले दिएको सयमअनुसार काकरको नाम शनिबार सिफारिस भएको हो । मौजुदा प्रधानमन्त्री सरीफले राजीनामा दिएपछि काकरले अन्तरिम प्रधानमन्त्रीको शपथ लिने बताइएको छ । पाकिस्तानमा अन्तरिम सरकारले आम निर्वाचन गराउने छ ।