अमेरिकी परमाणु क्षेप्यास्त्र केन्द्रमा तैनाथ २ सय ६८ जना सेनामा क्यान्सर रोग देखिएपछि यो विषयले अमेरिकी परमाणु केन्द्रमा कार्यरत सेना र विज्ञमा त्रास सिर्जना भएको छ ।
मोन्टाना राज्यमा रहेका दुई परमाणु क्षेप्यास्त्र केन्द्रमा गरिएको अनुसन्धानमा क्षेप्यास्त्र केन्द्र वरपर ‘कार्सिनोजेन’ पदार्थ मापदण्डभन्दा बढी भेटिएको बताइएको छ । कार्सिनोजेनकै कारण २ सय ६८ अमेरिकीमा क्यान्सर निम्तिएको आशंका गरिएको छ । किनभने यो पदार्थको धेरै मात्राले मानिसलाई क्यान्सर हुन्छ ।
अमेरिकी एयर फोर्स ग्लोबल स्ट्राइक कमान्डले गरेको अनुसन्धानमा परमाणु क्षमताका अन्तरमहादेशीय क्षेप्यास्त्र राखिएको क्षेत्रमा कार्सिनोजेनको मात्रा मापदण्डभन्दा बढी देखिएको पाइएको हो । ग्लोबल स्ट्राइक कमान्डका जनरल थोमस बसियारले अवस्था खराब भएकाले परमाणु क्षेप्यास्त्र केन्द्रलाई तुरुन्तै सफा गर्नुपर्ने समाचार संस्था एपीसँग बताएका छन् ।
एपीका अनुसार अधिकांश सेना जो परमाणु क्षेप्यास्त्र केन्द्रमा तैनाथ थिए, उनीहरूमा नन हच्किन लिम्फोमा अर्थात् दुर्लभ रक्त क्यान्सर रोग देखिएको छ । अन्तरमहादेशीय क्षेप्यास्त्र बेसमा कमै सेना तैनाथ हुन्छन् । सेना र उनीहरूका परिवारमा नै क्यान्सर देखिएपछि यसले अमेरिकी क्षेप्यास्त्र कार्यक्रममा पनि प्रश्न उठाएको छ । परमाणु क्षेप्यास्त्र केन्द्रमा कयौँ सेना बंकरमा बसेर काम गर्नुपर्ने हुन्छ ।
६०-७० वर्ष अगाडिदेखि अमेरिकी परमाणु हतियार सम्पन्न क्षेप्यास्त्र मिसाइल साइटमा राखिएका छन् । पूर्वाधार धेरै पुरानो भएकाले पनि त्यहाँ सेनाहरूको स्वास्थ्यमा समस्या निम्तिएको आशंका छ । २४ घन्टा नै सेनाले त्यहाँ क्षेप्यास्त्रको रेखदेख गर्नुपर्छ तर त्यहाँको हावा र पानी दूषित भएको बताइन्छ ।
सन् १९६० देखि अहिलेसम्म अमेरिकाले २१ हजार अमेरिकी सेनालाई क्षेप्यास्त्र क्षेत्रको जिम्मा दिएको छ । क्षेप्यास्त्र मर्मतदेखि त्यसको रेखदेख र प्रयोगमा उनीहरूले भूमिका खेल्नुपर्छ । यतिबेला उनीहरूमै क्यान्सर देखिएपछि यो विषयले अमेरिकी सरकारको गम्भीर रूपमा ध्यानाकर्षण गराएको छ ।
उसो त परमाणु हतियार बनाउने दौडमा यतिबेला विश्वका शक्तिशाली देश नै लागेका छन् । रुसपछि अमेरिका विश्वमा सबैभन्दा बढी परमाणु हतियार भएको राष्ट्र हो । रुससँग ५ हजार ८८९ परमाणु हतियार छ भने अमेरिकासँग ५ हजार २४४ परमाणु हतियार छ ।