काठमाडौं । एक क्वीन्टल सुन तस्करी प्रकरणमा व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् । भारतबाट फर्किने क्रममा उनी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । दिल्लीबाट उनी काठमाडौं आउँदै गर्दा विमानस्थलमा पक्राउ परेका हुन् । रोहन व्यापारी राजेश अकुडियाका छोरा हुन् ।
यसअघि यस प्रकरणमा राजस्व अनुसन्धान विभागले अडुकियाको घरमा छापा मारेको थियो । राजेश भने फरार छन् । अध्यागमन विभागले उनीहरूलाई कालो सूचीमा राखेको थियो । अडुकियाको भारत र हङकङ यात्रा शंकास्पद रहेको प्रहरीको भनाइ छ । एक क्वीन्टल सुन हङकङबाटै नेपाल ल्याइएको फेला परेको थियो ।
अध्यागमन विभागले रोहनलाई पक्राउ गरेर शुक्रबार राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ । यो प्रकरणमा २३ जना पक्राउ परिसकेका छन् । शुक्रबारै यो प्रकणमा दुई जना पक्राउ परेका थिए । यो प्रकरणको अनुसन्धान प्रहरीको सीआईबीले गरिरहेको छ ।