काठमाडौं । जसपाले पत्रकार सम्मेलन गर्दै गौर घटना माओवादी हठकै कारण भएको र घटनास्थलमै नभएका पार्टी अध्यक्ष उपेन्द्र यादवलाई मुछ्न खोजेको बताएको छ ।
‘तराई–मधेशका विभिन्न भूभागमा तत्कालीन मधेसी जनअधिकार फोरमले आयोजना गरेका आमसभा र विरोध प्रदर्शन लगायतका कार्यक्रममाथि आक्रमण गर्ने निर्णय तत्कालीन माओवादीले गर्याे,’ शुक्रबार जसपाले पत्रकार सम्मेलन गरेर भन्यो, ‘मधेशी जनअधिकार फोरम नेपालले आयोजना गरेको कार्यक्रमहरू खासगरी भैरहवा, नेपालगञ्ज लगायतका स्थानमा माओवादीका छापामारद्वारा हातहतियारसहित भीषण आक्रमण गरी मञ्च तोडफोड र आगजनी गर्ने, सभा बिथोलल्ने कार्यसमेत गर्दै मुलुकलाई थप द्वन्द्व र मूठभेडतर्फ धकेले ।’
२०६३ चैत ७ गते पनि फोरमले जिल्ला प्रशासनसँग १२ दिन अगाडि नै स्वीकृति लिई गौरमा कार्यक्रम गर्न खोजेको तर माओवादीले बिथोल्न बम पड्काएको पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।
‘गौरस्थित राइस मिलको मैदानमा आमसभाको आयोजना गरिएको थियो । उक्त कार्यक्रम आयोजना हुने स्थलमा माओवादीले दुई दिनअघि मात्र कार्यक्रम गर्ने निर्णय गर्यो । स्थानीय प्रशासनले रोक्दारोक्दै प्रशासनको अनुमतिबिना जबर्जस्ती सोही स्थानमा कार्यक्रम गर्ने हठ लियो,’ प्रवक्ता सुमनले भने । वाइसिएलको पोशाकमा रहेकाहरूले सभामाथि आक्रमण गर्दा स्थानीयले प्रतिकार गरेको जसपाको दाबी छ ।
‘सर्वप्रथम सभास्थल नजिकै बम विस्फोट गराए र त्यसपछि फाइरिङ गर्दै सभाका लागि तयार गरिएका मञ्चमा आक्रमण गरी फोरमका नेता, कार्यकर्तामाथि प्रहार गरे । माओवादीका कार्यकर्ताले फाइरिङ गर्न थालेपछि फोरमका कार्यकर्ताहरू सभा र मञ्च छाडेर भागे तर उक्त सभामा उपस्थित भएका हजारौं जनताहरू माओवादीविरूद्ध आक्रोशित बने । आक्रोशित जनता र माओवादीबीच कार्यक्रम स्थल र टाढाटाढा गाउँ–गाउँमा भिडन्त भई उक्त दुःखद् घटना हुन गयो,’ जसपाको प्रष्टीकरण छ ।
घटना हुनुमा तत्कालीन नेकपा माओवादीका भ्रातृ संगठन मधेशी राष्ट्रिय मुक्ति मोर्चाका महासचिव प्रभु साहसहित नेताको हठ रहेको जसपाले बताएको छ ।