काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सुनिल शर्माको पक्राउको विरोध गरेको छ। सांसद शर्मालाई इगो (प्रतिशोध) साध्नका लागि पक्राउ गरिएको एमालेको आरोप छ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद ज्वालाकुमारी साहले सुन प्रकरणबारे कुरा उठाएका कारण शर्मालाई पक्राउ गरिएको बताइन्।
उनले भनिन्, ‘सुन प्रकरणका भ्रष्टाचारीका विरुद्ध उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्छ भनेर पटक-पटक आवाज उठाइरहेको व्यक्तिलाई कुन हिसाबबाट समातिएको छ? यो कानुनअनुसार मिल्दैन। उहिले नै मिति सकिएको प्रमाणपत्रलाई बखेडा झिकेर समातिएको छ। घोर आपत्ति छ।’
मेडिकल व्यवसायी समेत रहेका कांग्रेस सांसद शर्मा नक्कली प्रमाणपत्रका आधारमा एमबीबीएस पढेको भन्दै पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई बिहीबार पक्राउ गरेको हो।