• माघ १८ २०८१, शुक्रबार

सबैभन्दा पहिले के थियो ?

श्रावण २६ २०८०, शुक्रबार
शाहहरू आउनुभन्दा अगाडि
मल्लहरूको शासन थियो
मल्लहरूभन्दा पनि अगाडि
लिक्ष्वीहरूको शासन थियो
लिक्ष्वीहरू आउनुभन्दा अगाडि
किरातहरूको शासन थियो
किरातहरू पनि कतैबाट आएका थिए
किरात आउनुभन्दा पहिले
कसको शासन थियो ?
शासन थियो ,
या शासन नै थिएन ?
गोरखामा
शाहहरू आउनुभन्दा पहिले
मगरहरू राजा थिए
राजाका छोरा राजा हुंदैनथे
दौडेर जित्ने मात्र राजा हुन्थे
राजाको पदको पनि अवधि थियो
त्योभन्दा पहिले के थियो ?
शाहहरू गोरखामै उम्रेका थिएनन्
मगरहरू पनि गोरखामै उम्रेका होइनन्
एउटा कुरा भने सत्य हो –
मगरहरूबाट
शाहहरूले
छलछाम गरेर राज्य खोसेका थिए ।
पशुपति बन्नु अगाडि बाैद्द विहार थियो
बाैद्द विहार बन्नु अगाडि के थियो ?
जङ्गल थियो
बागमती थियो
अझ अगाडि
एउटा विशाल तलाऊ थियो
तलाऊभित्र माछा थिए
अरु जलचर थिए
जलचरहरूको धर्म थिएन
जलचरहरूका देउता थिएनन्
तिनीहरूका राजा थिएनन
मन्दिर विहार केही पनि थिएनन् ।
मुक्तिनाथ बन्नुभन्दा अगाडि
एउटा बाैद्द गुम्वा थियो
लामा थिए
झुमा थिए
झुमा अहिले पनि छन्
त्योभन्दा पहिले के थियो ?
हिमाल थियो
नदी थियो
नदीको नाम
कालीगण्डकी पक्कै थिएन
शालिग्राम
एउटा अनौठो पत्थर त थियो
तर त्यो अझै देउता बनिसकेको थिएन ।
चर्च बन्नु अगाडि
एउटा मन्दिर थियो
मन्दिर बन्नु अगाडि
बुढासुब्बा बुढीसुब्बिनीको स्थल थियो
त्योभन्दा अगाडि के थियो ?
जङ्गल थियो
बाघ भालु
हात्ती लगायत
जङ्गली जनावर थिए
जनावरहरूको कुनै धर्म थिएन
जनावरहरूका कुनै देउता थिएनन्
जनावरहरूका
बुढासुब्बा बुढीसुब्बिनी पनि थिएनन्
मन्दिर पनि थिएन
चर्च पनि थिएन ।
मानिस जहाँ जहाँ पुग्यो
आफ्ना देउता पनि सँगै बोकेर गयो
मन्दिर, मस्जिद, चर्च , गुम्बा
सिमेभुमे देवी देउराली
सँगै लिएर गयो
प्रकृतिसँग पनि लड्दै
फरक सभ्यतासँग पनि लड्दै
मान्छे जहाँ जहाँ पुग्यो
उसले
फरक सभ्यताका राजा धपायो
फरक सभ्यताका रैती धपायो
देउता धपायो
धार्मिक स्थल भत्कायो
र आफ्नो स्थापना गर्यो ।
आज जे कुरा जुन स्थानमा छन्
ती कुराहरू
सबैभन्दा पछिल्लो विजेताले स्थापना गरेका हुन् ।
भोलि अर्को विजेता आयो भने
आज रहेका कुराहरू पनि भत्कन्छन्
नयाँ विजेताले
आफ्ना कुराहरू स्थापना गर्छ
र यस्तो भाष्य सिर्जना गर्छ कि
ती नवनिर्मित कुराहरू
जून-घामभन्दा पनि पुराना हुन्
बिस्तारै बिस्तारै
नयाँ पुस्तालाई
त्यो कुरा हो जस्तो लाग्नेछ ।
(भारतीय कवि विनोद धुवाँको कविताबाट प्रभावित)
२०८० श्रावण २६
सिनामंगल