आज अन्तर्राष्ट्रिय शान्ति तथा हिरोसिमा दिवस ! जापानका सहरहरूमा एकोहोरो घण्टीका आवाज आइरहेको छ । सन् १९६४ देखि हिरोसिमाको एक स्मृतिपार्कमा निरन्तर वत्ती बलिरहेको छ ।
बत्तीका वरिपरि कर्मशील जापानी तात्कालीन हिरोसिमा महाविनाशको स्मृतिमा डुबेका छन् । निरन्तर बलिरहने कहिल्यै ननिभ्ने वत्ती जापानी र संसारका लागि आशाको ज्योति बनेर जगमगाइरहेको छ ।
दोस्रो विश्वयुद्धमा अमेरिकाद्वारा ध्वस्त पारिएको जापानको पुनर्निर्माण र समृद्धिको सङ्केतका रूपमा बलिरहेको यो वत्ती सबैका लागि असीम प्रेरणा बनिरहेको छ । दोस्रो विश्व युद्ध रूसको मस्कोमा लगभग अन्त्य भइसकेको थियो ।
अब समाजवादी रूसको विश्वमा दमदमी हुने भयो भन्ने डर अमेरिकालाई परिरहेको थियो । रूसलाई पनि थर्काउने र जापानलाई पनि तह लगाउने अस्त्रका रूपमा १९४५ अगष्ट ६ तारेखमा अमेरिकी बी–२९ बिमानबाट हिरोसिमामा युरेनियम आणविक बम खसालियो ।
आणविक बम सिद्धान्ततः आमनरसंहारकै लागि बनाइएको हुन्छ । मानव जातिको इतिहासमा हिरोसिमा आमनरसंहारका लागि यो पहिलो आणविक बम प्रयोग थियो । मानिसले मानिसमाथि श्रेष्ठता कायम गर्न गरिएको यो महाविनास थियो ।
आधुनिक, प्रविधियुक्त ‘विवेकशील’ मानवको यो एक बर्बर जङ्गली व्यवहार थियो । मानव इतिहासमै एक कलङ्क ! यसले हिरोसिमा र यस वरिपरिका ८० हजार मानिसको एकैसाथ ज्यान लिएको थियो । यस बिष्फोटको विकिरणबाट दसौं हजार मानिस घाइते र अपाङ्ग भए । अहिले पनि यो क्षेत्रमा अपाङ्ग बच्चा जन्मने गर्दछन् ।
यत्तिले मात्र अतिमहाशक्तिको ‘इख’ मेटिएन । हिरोसिमा महाविनासको तीन दिनपछि अगष्ट ९ मा सघन बस्ती भएको सहर नागासाकीमा अमेरिकी विमानद्वारा फेरि अर्को बम खसालेर ४० हजार मानिसको ज्यान लिइयो । विश्वमा मानव जातिका लागि एक विभत्स र हृदयविदारक घटना अहिले पनि निन्दित छ ।
‘आणविक बमको त्रासदीपछि मात्र जापानले आत्मसमर्पण गर्यो’ भनियो । जब कि दोस्रो विश्वयुद्ध मस्कोमा नाजी सेनाको लज्जास्पद पराजय र कब्जापछि भइसकेको थियो । आणविक बमको त्रासदीसँगै दोस्रो विश्वयुद्धमा पूर्णविराम लागेको प्रचार धुवाँधार रूपमा गरियो ।
यस्तो थियो– हारजितको मानसिकताको उपज ! आश्चर्य कुरा त के थियो भने अमेरिकी निशानामा रहेका जापानी ५ सहरमा नागासाकीको नामै थिएन । तर त्यहाँ बम खसालियो ।
हिरोसिमा र नागासाकीमा खसालिएका बम फरक प्रकृतिका थिए । हिरोसिमामा खसालिएको ‘लिटल ब्वाय’ युरेनियम–२३५ बाट बनाइएको थियो । नागासाकीमा खसालिएको ‘फ्याट म्यान’ प्लुटोनियमबाट बनाइएको थियो । फ्याटम्यान अलि बढी जटिल रूपमा निर्माण गरिएको थियो ।
युद्धको नाम र मातमा अमेरिकाले युरेनियम र प्लुटोनियम आणविक अस्त्र ठीक अवस्थामा छन् कि छैनन् भनेर हिरोसिमा र नागासाकीमा खसालेर प्रयोग जाँच गरेको थियो । अहिलेसम्म हिरोसिमा र नागासाकीमा खसालिएका बमको निकै चर्चा हुँदै आएको छ ।
तर अमेरिकाले जापानमाथि अर्को अति खतरनाक बम पनि वर्षाएको थियो । त्यो थियो, जापानको राजधानी सहर टोक्योमा खसालिएको ‘नापाम बम’ ! यो महाभारतमा भनिएको आग्नेयास्त्र (आगोको लप्का फिंजाउने) जस्तै थियो ।
नापाम आणविक बमले एक लाख जापानी नागरिकको ज्यान लिनुका साथै लाखौं घाइते तथा अपाङ्ग बनाइएको थियो । ‘ग्रेट टोक्यो एयर रेड’का नाममा अमेरिकी वायुसेनाले नापाम बम खसालेको थियो ।
बम खसाल्नुभन्दा केही समय अघि मात्र अमेरिकाले हिरोसिमा र नागासाकीमाथि पर्चा छरेको थियो । तर सर्वसाधरणको व्यवस्थापन समय नै नदिइकन लगालग परमाणु बम खसालिएको थियो । अमेरिकाले यो नृशंसताको उदाहरण देखाएर अति महाशक्तिको प्रभुत्व विश्वभर कायम गर्न चाहन्थ्यो । भयो पनि त्यही ।
बम वर्षापछि हिरोसिमा र नागसाकी निर्जन बस्तीमा परिणत भए । एकजना पनि जिउँदो मान्छे थिएन, त्यहाँ । तर पछि श्रमजीवी जापानीले आफ्नै पौरखमा ती दुवै सहरको पुनर्निर्माण गरी संसारलाई चकित पारिदिए ।
आज हिरोसिमा र नागासाकी सहर खरानी पारिएको महाविनाशको सम्झनामा मानवताको दियो बलिरहेको छ, निरन्तर त्यहाँस्थित स्मृतिपार्कमा । यो दियोले २ लाख ४० हजार मानिसको सम्झनामा गराइ रहेको छ, अन्तर्राष्ट्रिय शान्ति दिवसको नाममा !