• जेष्ठ २८ २०८२, मंगलवार

अमेरिकाले आफ्ना नागरिक रिहा गर्न भनेपछि तालिबानले भन्यो–‘पहिले हाम्रो सम्पत्ति फिर्ता गर’

श्रावण १६ २०८०, मंगलवार

काबुल । दुई वर्षअगाडि तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेको थियो । त्यस यता अमेरिका र अफगानिस्तानबीच कुनै वार्ता भएको थिएन । आइतबार र सोमबार भने अमेरिका र अफगानिस्तानबीच दुई वर्षमा पहिलोपटक औपचारिक वार्ता गरेको छ ।

अमेरिकी विदेश नीति र परराष्ट्र सम्बन्धसँग सम्बन्धित कार्यकारी विभाग यूएस डिपार्टमेन्ट अफ स्टेटका शीर्ष अधिकारीहरूले दुई दिनसम्म कतारको राजधानी दोहामा तालिबान सरकारका शीर्ष नेताहरूसँग भेटघाट गरेका हुन् । अमेरिकाले अफगानिस्तानलाई महिलाविरुद्धका नीति सच्याउन सुझाव दिएको छ । तालिबान सत्तामा आएसँगै त्यहाँ मुस्लिम सरिया कानुन कडा रूपमा लागू गरिएको छ । यतिबेला त्यहाँ महिलालाई घरका बाहेकका काम गर्न दिइएको छैन भने त्यहाँ महिलालाई पढ्न र ब्युटीपार्लर जान बञ्चित गरिएको छ ।

वार्ताका क्रममा अमेरिकाले अफगानिस्तानको हिरासतमा रहेका अमेरिकी नागरिकहरू रिहा गर्न पनि आग्रह गरेको छ । तालिबानले भने आफ्ना नेताहरूमाथि लागेको भ्रमण प्रतिबन्ध हटाउन माग गर्दै अमेरिकामा फ्रिज गरिएको १० अर्ब अमेरिकी डलर सम्पत्ति फिर्ता गर्न भनेको छ । सन् २०२१ को अगष्टमा असरफ गनी सरकारलाई अपदस्त गर्दै तालिबान सत्तामा आएको थियो । अमेरिकी सेनाहरू अफगानिस्तानबाट फर्काइने पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयअनुसार अमेरिकी सेनाहरू अफगानिस्तानबाट फर्किंदै गर्दा नै तालिबानले घातक हमला गर्दै पूरै अफगानिस्तान कब्जा गरेको थियो ।

तालिबानले त्यसबेला अफगानिस्तानको भूमिमा आतंकवादी गतिविधि नहुने र आफ्नो देशको भूमि अमेरिका र उसका सहयोगीविरुद्ध प्रयोग गर्न नदिने वाचा गरेको थियो । तालिबान सत्तामा आएता पनि अमेरिकाले यो सरकारलाई अहिलेसम्म मान्यता दिएको छैन ।