काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका काँग्रेसका नेता बालकृष्ण खाँण, एमालेका नेता टोप बहादुर रायमाझी लगायतको सम्बन्धमा उच्च अदालतले कैफियत प्रतिवेदन मागेको छ ।
उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतसँग उनीहरूको सम्बन्धमा कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको हो । प्रमाणको मुल्याङ्कन नगरेको र मुद्दाको विषयवस्तु नबुझी थुनामा पठाएको भन्दै खाँणलगायतले जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा रिट दिएका थिए । उच्च अदालत पाटनले उनीहरूको हकमा कैफियत प्रतिवेदन माग गरेको उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।
उनीहरूलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नु पर्नाको कारण के हो भनी काठमाडौँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरिएको छ । आगामी बिहीबारसम्म कैफियत प्रतिवेदन पुगेमा अर्को साता पेशी तोकिनेछ ।