काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा छापा मारेर प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । उनीहरूबाट १० लाख ८२ हजार पाँच सय नगद बरामद भएको छ । आइतबार राति प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोंगबुले टोखा नगरपालिका-९ स्थित सेतीगंगा गेस्ट हाउसको पाँचौँ तलामा छापा हानी जुवा खेलिरहेका व्यक्तिहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका-५ का वडाध्यक्ष राम श्रेष्ठसमेत रहेको प्रहरीले जनाएको छ । त्यस्तै पक्राउ पर्ने अन्यमा बैतडी घर भएका गेस्ट हाउस सञ्चालक राजेन्द्रप्रसाद जोशी, बैतडीकै सूर्य भट्ट, कालोसिंह धामी, राजेन्द्रबहादुर थापा, रोल्पाका सरोज खत्री, दाङका धीरज शाह, कैलालीका जयबहादुर ढुंगेल, दोलखाका किरण थापा र विश्वनाथ कार्की, गोरखाका अर्जुन गुरुङ र काठमाडौंका अंजित रिजाल छन् ।
पक्राउ परेकाहरूलाई जुवासम्बन्धी कसुरमा सात दिनको म्याद थप भएको महाराजगञ्ज वृत्तका डिएसपी अंगुर जिसीले जानकारी दिए । टोखा नगरपालिका-९ स्थित सेतीगंगा गेस्ट हाउसको पाँचौँ तलामा आइतबार राति छापा हानी प्रहरीले १२ जुवाडेलाई पक्राउ गरेको थियो । उनीहरूबाट १० लाख ८२ हजार पाँच सय नगद बरामद भएको छ ।